मनकामना केबलकार २ महीना बन्द हुने
काठमाडौं,असार ९ । असार मसान्तदेखि झण्डै २ महीना मनकामना केबलकार बन्द हुने भएको छ । केबलकारको डिजिटल प्रणाली स्तरोन्नति गरी मुख्य केबल (लठ्ठा) समेत फेर्नुपर्ने भएकोले केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
केबलकारका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केही दिनपछि प्रेस विज्ञप्तिनै जारी गरेर केबलकारको सेवा बन्द हुने जानकारी दिने बताए । उनले भने, ‘अहिले सामान्य सूचना जारी गरी पूर्व जानकारी मात्रै गराएका हौं निर्माण कम्पनीबाट प्राविधिक टोली आएपछि हाम्रो प्राविधिक र उनिहरू बिच छलफल गरी हामी प्रेस विज्ञप्ति जारी गरेर सूचना दिन्छौं ।’
उनले यस पटक विगतका दिनमा भन्दा लामो समय सेवा बन्द हुने बताए । खासगरी बर्षाको समय अफ सिजन हुने र बाढी पहिरोले गर्दा बाटोहरू बन्द पनि हुने हुँदा टाढा बाट मनकामना दर्शन गर्न आउने दर्शनार्थीहरूलाई समेत ध्यानमा राखेर १ महीना अगाडीबाटै बन्द हुने सूचना जारी गरिएको उनको भनाई थियो ।
‘प्राविधिकहरूसँग छलफल गरी कति समयमा काम सकिने भन्ने निर्क्योल निकाल्छौं । भनिएको समयभभन्दा कम पनि लाग्न सक्छ । अहिले ५० दिन बन्द हुन्छ भनेर हामीले भन्दै आएका छौं ।’ महाप्रबन्धक शेरचनलले भने, ‘समय भन्दा अगावै काम सम्पन्न भएमा तुरुन्तै सूचना जारी गरेर दर्शनार्थीलाई जानकारी दिई सेवा शुरू गर्छौ ।’
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि वि.सं. २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।
मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामनामाईको मन्दिर भने भक्तजनका लागि नियमित रुपमा खुल्ला नै रहने मनकामना क्षेत्र विकास समितिको अध्यक्ष रामकुमार जोशीले जानकारी दिए । केबलकार बन्द भएपनि गाडीबाट मन्दिर पुग्न सकिने र हिँडेरै पैदल गएपनि मुख्य सडकबाट २–३ घण्टामा मन्दिर पुग्न सकिने अध्यक्ष जोशीले बताए । उनले गोरखाको आँबुखैरहनीबाट र केबलकारको बटम स्टेशन रहेको स्थान पारी कुरिनटारबाट झोलुङ्गे पुल तरेपछि गाडीमा मन्दिर पुग्न सकिने भन्दै साना स्कार्पियो, सूमो, बुलेरो लगायतका गाडीबाट मन्दिर आउन सहज हुने बताए ।
उनले भने, ‘दर्शन गर्नै आउने भक्तजनहरू सक्नुहुन्छ भने पैदल पनि आउन सक्नुहुन्छ बिकल्पको रुपमा मनकामना जाने गाडीहरू पाईन्छ ।’ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनहरू औसतामा दैनिक ५ हजार हुने जानकारी दिँदै उनले र केबलकार सेवा बन्द हुँदा र बर्षा याममा दर्शनार्थीहरू केही घट्ने बताए ।गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर एक महत्त्वपूर्ण शक्तिपीठ हो।