वीरगञ्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट
वीरगञ्ज,असार ९ । वीरगञ्ज महानगरपालिकाले आगमी आर्थिक वर्ष (आव) २०८१/८२ को लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको छ । शनिबार १५ औं नगरसभाबाट महागरले ल्याएको बजेट चालू आव २०८०/८१ को तुलनामा ३२ करोड रुपैयाँले कम हो ।
आन्तरिक आयमा भएको कमी, संघ र प्रदेश सरकारले दिने अनुदान कटौतिपछि बजेटको आकार पनि खुम्चिएको महानगरका प्रमुख राजेशमान सिंहले बताएका छन् । आगामी वर्षको बजेटमा चालू खर्चतर्फ २ अर्ब ४ करोड रुपैयाँ (७० दशमलव ७ प्रतिशत), पूँजीगततर्फ ८१ करोड १८ लाख (२८ दशमलव १ प्रतिशत) र वित्तीय व्यवस्थापनमा ३ करोड ६४ लाख (१ दशमलव २ प्रतिशत) छुट्याइएको विवरण उपप्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको बजेटमा छ ।
कुल बजेटमा आन्तरिक राजस्व स्रोतबाट ७९ करोड ७५ लाख, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रुपैयाँ आउने अनुमान गरिएको छ ।
प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेशको राजस्व बाँडफाँटमार्फत २ करोड २८ लाख र अन्य स्रोतबाट २ करोड ४० लाख आय हुने अनुमान महानगरको बजेटमा छ ।
महानगरले आफ्नो क्षेत्रमा खुलेका उद्योगमा २५ प्रतिशत रोजगारी वीरगञ्जका बासिन्दालाई दिएमा त्यस्ता उद्योगलाई व्यवसाय कर र सम्पत्ति करमा छूट दिने भएको छ । महागरमा औद्योगिक ग्राम स्थापनाको काम अघि बढाउने विषय पनि बजेटमा अटाएको छ ।
वीरगञ्जमा खानेपानीको बढ्दो समस्या समाधानका लागि अल्पकालीन र दिर्घकालीन योजना ल्याएको छ । अल्पकालीन निकासमा सार्वजनिक स्थलमा डिप बोरिङलाई निरन्तरता दिने महानगरको नीतिमा उल्लेख छ । नगरका मुख्य स्थानमा वाटर एटीएम प्रणाली स्थापना गर्ने योजना महानगरको छ ।
खानेपानी संस्थानसँगको सहकार्यमा ४ हजार विपन्न परिवारलाई नि:शुल्क धारा जडानको कार्यलाई आगामी वर्षमा पनि निरन्तरता दिने भएको छ । चालु वर्षमा पनि ४ हजार घरमा नि:शुल्क धारा पुर्याइएको थियो ।
पानीको स्रोत संरक्षणका लागि महानगर क्षेत्रभित्र पोखरी, पुराना इनार र कुवा संरक्षणको योजना अघि बढाइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका क्षेत्रलाई महानगरको बजेटले प्राथमिकता दिएको छ ।