स्वदेश फर्किए महानगर प्रमुख शाह



काठमाडौं,असार ८ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शनिबार स्वदेश फर्किएका छन्  । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए ।

स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘‘ठुला सहर केन्द्रित बसाइसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक-फरक ठाउँका सहरहरूको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।’’

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयरल राउण्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा धारणा राख्दै, ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरू नजिक रहेका सहरहरूमा पुर्‍याएर, ठुला सहरमा केन्द्रीकृत हुँदै गएको जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्ने बताएका थिए । 

‘‘बसाइसराइले सहरी चाप बढ्ने मात्र होइन । गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ ।’’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्