आयात-निर्यात घट्यो, ११ महीनामा १४ खर्ब ५३ अर्बको आयात
काठमाडौं,असार ८ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महीनामा आयात-निर्यात घटेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको साउनदेखि जेठ मसान्तसम्मको तथ्यांकअनुसार आयात १.८४ प्रतिशतले र निर्यात ३.०१ प्रतिशतले घटेको जनाएको छ ।
तथ्याङ्कअनुसार यस अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यसैगरी ११ महीनामा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गत आवमा सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
तथ्याङ्कअनुसार यो ११ महीनामा व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्कअनुसार ११ महीनामा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा भएको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा भएको थियो ।
गत वर्षको ११ महीनाको कुल वैदेशिक व्यापारको तुलनामा यो ११ महीनामा कुल वैदेशिक व्यापारमा १.९५ प्रतिशतले कमी आएको छ । यो ११ महीनामा मुलुकले १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको थियो ।