नसर्ने रोगको जोखिमबाट बच्न योग



काठमाडौं,असार ७ । नियमित योग गर्नाले नसर्ने रोगको जोखिमबाट बच्न सकिने बताइएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा विभागका महानिर्देशक डा. प्रदीप केसीले नियमित योग गर्ने मानिसलाई नसर्ने रोगको जोखिम कम हुने बताए । 

उनले नसर्ने रोग नियन्त्रण गर्ने हो भने मानिसको जीवनशैली परिवर्तन गरेर नियमित योग गरेको अवस्थामा नसर्ने रोग नियन्त्रण गर्न सकिने बताए । उनले उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मिर्गौला रोगलगायतका नसर्ने रोग नियन्त्रण गर्न योगले महत्व राख्छ भने । आयुर्वेद चिकित्सक डा. श्यामबाबु यादवले योगले मानिसलाई अनुशासन सिकाउने भन्दै सरकारले योगलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले योगले शरीरलाई स्फुर्ति राख्ने भएकाले रोगबाट बच्न सकिने बताए । 

यसैबिच शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाइँदै छ ।  जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिन्छ । 

जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो ।    

प्रतिक्रिया दिनुहोस्