एसइईको नतिजा एक साताभित्र



काठमाडौं,असार ७ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन् । 

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई समेत रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक पौडेलले बताए । 

प्राप्ताङ्क रुजु गर्ने काम ३०/४० प्रतिशतजति सकिएको छ । यो सकिएपछि फेरि अन्तिम पटक रुजु गरिन्छ । अन्तिम रुजु पनि सकिएपछि नतिजा प्रकाशन तयारी गरिन्छ । पौडेलले भने, “असार १४ गतेभन्दा एक दिन पनि पछि जाँदैन । सकेसम्म त्योभन्दा अघि नै प्रकाशन गर्ने गरी काम गरिरहेका छौँ ।” 

बोर्डका अनुसार एसइईमा पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए । परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका थिए । प्रवेशपत्र लिएकामध्ये परीक्षामा चार लाख ७० हजारको हाराहारीमा मात्रै उपस्थिति भएको बोर्डले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्