‘ठूला सहर केन्द्रित बसाइसराइ निरुत्साहन र सेटलाइट सहरमा सुविधा वृद्धि अबको आवश्यकता’
काठमाडौँ,असार ७ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताए ।
ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन जानु भएका प्रमुख शाहले आज भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा यस्तो धारणा राखेका हुन् ।
‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् ।’ शाहले भने, ‘ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरुमा ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले जनसंख्याको एकत्रित चाप रोकिन्छ । फरक प्रकृतिको भौगोलिक अवस्थितिमा सहरी नीतिमा महानगरहरुले यस विषयलाई सम्बोधन गर्नुपर्छ ।’
‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन । गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ’, उनले भने ।
प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।
प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए ।
सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन् । शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नेछन् ।
सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति वहस हुनेछ ।
नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तररराष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
उपयोग नीतिका आधारमा नविन आवास र भूमि व्यवस्थापनमा महानगरहरुका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ । बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ ।