‘बजेटअघि ठूलो परिणाममा गाडी भित्रिनु शंकास्पद’



काठमाडौं,असार ७ । बढी क्षमताको विद्युतीय गाडी कम क्षमताको देखाएर कर छली गरको आशंकमा राजस्व अनुसन्धान विभागले बीवाईडी गाडीको विक्रेता साइमेक्स इंकमाथि अनुसन्धान अगाडि बढाएको छ । 

आर्थिक ऐनअनुसार कम क्षमताको गाडीमा भन्सार र अन्तःशुल्क कम छ भने बढी क्षमताको गाडीमा बढी यी कर तिर्नुपर्छ । बढी क्षमताको गाडी कम क्षमताको देखाएर भन्सार जाँचपास हुँदा सरकारले पाउनुपर्ने राजस्व गुम्छ । 

कर छलेको आशंकामा साइमेक्स इंकका कागजपत्रहरू अनुसन्धानका लाथि नियन्त्रणमा लिइएको विभागका अधिकारीहरूले बताए ।

आवश्यक थप विवरणसहित आयातकर्तालाई विभागले तत्कालै सम्पर्कमा आउन भनिसकेको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले आर्थिक अभियानलाई बताए । उनका अनुसार कर छलेको गोप्य सूचनाका आधारमा अनुसन्धान अधिकारीहरूले कतिपय कागजात नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान अघि बढिसकेको छ । ‘कम क्षमता देखाएर गाडी भिœयाई राज्यलाई लामो समयदेखि राजस्व छलिरहेको भन्ने हामीलाई सूचना आयो, सोहीका आधारमा अनुसन्धान अघि बढ्यो,’ उनले भने ।

अरू थप विक्रेता, आयातकर्तामाथि समेत अनुसन्धान अघि बढ्न सक्ने अनुसन्धानमा संलग्न उच्च अधिकारीहरूले बताएका छन् । ‘शुरूमा बीवाईडीमाथि अनुसन्धान हुनेछ । त्यसपछि हामी अन्य गाडीको अनुसन्धान गर्नेछौं,’ विभागका एक अनुसन्धान अधिकृतले भने, ‘कसले कति क्षमताका गाडी भित्र्याएर कसरी, कति राजस्व छल्यो, त्यो छिट्टै थाहा हुनेछ ।’

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले केही समय अघिसम्म ठूलो परिणाममा गाडी भित्रिनु नै शंकास्पद रहेको बताए । जेठ १५ गते बजेट आउनुअघि ठूलो संख्यामा विद्युतीय गाडी आयात भएका थिए । 

मन्त्रालयका ती अधिकारीका अनुसार उत्पादक र आयातकर्ताको मिलेमतोमा किलोवाट घटाएर गाडी नेपाल भित्र्याउने काम केही समय अघिसम्म चलिरहेको थियो । 

साइमेक्स इंकका प्रमख मार्केटिङ अफिसर समीर श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर जाँचपास गरी गाडी भित्र्याइएको कर छली नभएको दाबी गरे । ‘राजस्व अनुसन्धान विभागले मागेको कागजात हामीले बुझाएका छौं । अनुसन्धानमा सघाउन हामी तयार छौं,’ उनले भने । 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका एक पदाधिकारीले पनि बीवाईडी गाडी आयातमा भएको अनुसन्धानप्रति असन्तुष्टि पोखे । ‘करोडौं खर्चेर सबै प्राविधिक जाँचपास गरेर ल्याइएका गाडीमाथि सरकारले आँखा लगाउनु उचित होइन,’ नाम नबताउने शर्तमा नाडाका एक पदाधिकारीले भने, ‘व्यावसायिक वातावरणमा गम्भीर आघात पु¥याउने खेल हुँदै छ ।’ 

केही समय अघिसम्म बीवाईडी अत्यधिक संख्यामा भित्रिएपछि अर्थ मन्त्रालयले भन्सार विभागमार्पmत सबै नाकामा जाँचपासमा थप कडाइ गर्न पत्राचार नै गरेको थियो । विभागबाट जारी पत्रमा विद्युतीय सवारी जाँचपास गर्दा विवरण राम्रोसँग जाँच गर्न, सम्बद्ध कम्पनीको वेबसाइट हेर्न भनिएको थियो । सकेसम्म प्राविधिक जाँच गर्न र गाडीहरू पर्याप्त कागजातविना नछाड्न विभागले सबै कार्यालयलाई सचेत गराएको थियो ।

भन्सार विभागका अधिकारीहरू भने गाडीको इन्जिन क्षमता घटाएको वा बढाएकोबारे प्राविधिक जाँच नै हुनुपर्ने बताउँछन् । गाडी आयातकर्ताले क्षमता घटाए/नघटाएको प्राविधिक विषय भएकाले त्यो भन्सारलाई थाहा नहुने विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला बताउँछन् । ‘त्यो कुरा प्राविधिक हो, खै मलाई थाहा छैन,’ उनले भने । 

बजेट अघिसम्म ठूलो मात्रामा विद्युतीय गाडी भित्रिए पनि राज्यले करको मामिलामा त्यत्ति फाइदा लिन सकेको थिएन । आम्दानीमै धक्का लागेकाले करका दरहरू चलाउनुपरेको सरकारी अधिकारीहरूले बताएका थिए ।

नेपालले गाडीको क्षमताको आधारमा कर निर्धारण गर्दै आएको छ । गाडीबाट प्राप्त हुने राजस्व घट्दै गएपछि आगामी आर्थिक वष (आव) को बजेटसँगै ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क बढाएको छ ।

नयाँ दरअनुसार ५० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लाग्न थालिसकेको छ । त्यस्ता गाडीमा बजेट आउनुअघिसम्म अन्तःशुल्क थिएन, १० प्रतिशत भन्सार दर थियो । यस्तै आउँदो आवका लागि बजेट ल्याउँदा सरकारले ५१ देखि १०० किलोवाटमा थप ५/५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाइसकेको छ । यो क्षमताका गाडीमा यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थियो । 

नयाँ आर्थिक विधेयकमार्फत सरकारले १०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क पुर्याएको छ । यसअघि भन्सार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटमा २० प्रतिशत भन्सार बढाएको छ । १० प्रतिशत अन्तःशुल्क घटेको छ । ३०० किलोवाटभन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । १० प्रतिशत अन्तःशुल्क घटेको छ । समग्रमा १० प्रतिशत कर बढेको छ । 

बजेटअघि बीवाईडीसहित अन्य विद्युतीय गाडी ठूलो मात्रामा भित्रिएको नाका रसुवागढी हो । कर बढ्ने आशंकामा आयातकर्ताले बजेटअघि नै गाडी जाँचपास गर्न खोज्दा उक्त भन्सारमा गाडीको लाइन लागेको थियो । 

उक्त नाकाबाट अहिले छिटपुट मात्रामा त्यस्ता गाडीहरू आइरहेको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले आर्थिक अभियानलाई जानकारी दिए । ‘हामीलाई जेठ १५ को रातिसम्म बीवाईडीसहितका गाडीहरू जाँचवास गर्न भ्याइनभ्याई थियो,’ उनले भने, ‘अहिले छिटपुट रूपमा मात्रै गाडीहरू आउने गरेका छन् ।’

पाठकका अनुसार भन्सारबाट त्यस्ता गाडी छुटाउने प्रक्रिया ‘टेस्ट ड्राइभिङ’ गरेर आयातकर्ताले ल्याएको रिपोर्टका आधारमा गरिन्छ । ‘यातायात विभागबाट टेस्ट ड्राइभिङको रिपोर्ट ल्याउँछन्, त्यसैलाई आधार मानेर हामीले भन्सारबाट जाँचपास गरेर पठाउँछौं,’ उनले भने । 

भन्सार विभागका अनुसार चालू आवको पहिलो १० महीनामा ८ हजार ४९७ विद्युतीय चारपांग्रे गाडी भित्रिएका छन् । गत आव २०७९/८० मा ४ हजार ५० ओटा यस्ता गाडी भित्रिएका थिए ।

सवारीसाधन र त्यसका पार्टपुर्जा आयातबाट आव २०७८/७९ मा ९० अर्ब रुपैयाँसम्म राजस्व संकलन गरेको सरकारले गत आव २०७९/८० मा ३३ अर्ब ३३ करोड रुपैयाँ मात्र संकलन गरेको भन्सार विभागको तथ्यांक छ । चालू आव २०८०/८१ को पहिलो ९ महीनामा पनि ३९ अर्ब ८९ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको विभागले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्