दुधको बक्यौता नपाएपछि किसानले घेरे डीडीसी, प्रहरीद्वारा धरपकड



काठमाडौं,असार ६ । मंसिरदेखिको दूधको पैसा पाउनुपर्ने मागसहित दुग्ध किसान आन्दोलित बनेका छन् । 

आन्दोलनको क्रममा प्रहरीले किसानमाथि धरपकड गरेको छ। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी) घेराउ र तालाबन्दी कार्यक्रम गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउ गरेको छ । 

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार करीब ५० जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ । डीडीसी अगाडि धर्नामा रहेका बेला प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको हो ।

पक्राउ परेका किसानहरूलाई सोह्रखुट्टे र कालीमाटीलगायतका प्रहरी वृत्तमा राखिएको र केहीबेरमा छाडिएको उनले बताए।

देशभरका ६ लाख दुग्ध किसानले करीब ७ महीनादेखिको भुक्तानी पाएका छैनन् । डीडीसी र निजी डेरी उद्योगहरूबाट किसानहरूले ४ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी छ । त्यसमध्ये डीडीसीले मात्र करीब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्