चितवनमा कृषि पर्यावरणीय प्रभावबारे अन्तरराट्रिय सम्मेलन शुरु



चितवन,असार ६ । कृषि, व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभाव (इन्टरनेशनल कन्फ्रेन्स अन इकोलोजिकल इम्प्याक्ट अन एग्रिकल्चर, बिजनेश एण्ड टेक्नोलोजी) विषयक दुई दिने अन्तरराष्ट्रिय सम्मेलन बुधवार रामपुरमा शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालय आयोजना गरेको सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञ सहभागी भएका छन् ।

कार्यक्रम उदघाटनका अवसरमा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरूले मौसम परिवर्तनको अनुकूल हुने गरी कृषिको विकास गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले मौसम परिवर्तनले कृषि क्षेत्रको विकासमा चुनौती रहेकोमा जोड दिए । 

सम्मेलनमा सहभागीहरूले हिंउँ पग्लिँदै जाँदा भूक्षय र पानीको अभाव जस्ता समस्या बढ्दै गएको भन्दै यससँगै जुध्न सक्ने गरी कृषि र प्रविधिको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीले मौसम परिवर्तनको चुनौतीलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्ने बताए । उनले भने, ‘हिमाल पग्लिँदै जानु, भूक्षय हुनु जस्ता कारणले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ ।’ उनले नेपालको जलविद्युत् हिमालबाट बगेका नदीमा निर्भर रहेको भन्दै त्यसको असर विद्युत् उत्पादन हुँदै अर्थतन्त्रमा समेत पर्ने बताए ।

डा. अधिकारीले विश्वविद्यालयहरुले यस्ता समस्याहरुका बारेमा अध्ययन अनुसन्धान गरेर समाधानको बाटो पहिल्याउनु पर्ने बताउनुभयो । उनले भने, ‘यस्ता कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग सहयोग गर्न तयार छ ।’

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेशचन्द्र पौडेलले सान्दर्भिक विषयमाथि छलफल भएको भन्दै प्रकृति र विज्ञानमा आधारित भएर अघि बढ्नुपर्ने बताए । नेपालको शिक्षा नीतिमा परिवर्तन गरेर ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक र ‘भोकेसनल’ शिक्षा दिने बनाउनु पर्ने उनको भनाइ छ । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)का उपकुलपति प्रा.डा.पुष्यप्रसाद रेग्मीले विश्वविद्यालयका विद्यार्थीहरूलाई थप अनुसन्धानका लागि सहयोगको खाँचो रहेको औंल्याए ।

कार्यक्रममा एएफयू सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठी, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.शारदा थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, डा.गणेशराज जोशी, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटा लगायतले धारणा राखेका थिए ।

यसैगरी एएफयूका डिनहरू अर्जुन श्रेष्ठ र होमबहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, डा.रामहरि तिमिल्सिना, महात्मा गान्धी चित्रकोट ग्रामोदय विश्वविद्यालयका अध्यक्ष प्रा.डा. डिपी राई लगायतले विषयवस्तुमाथि प्रकाश पारेका थिए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसिया, चीन र अष्ट्रेलियाका विज्ञ, प्राध्यापक र विद्यार्थीको सहभागिता छ । 

भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी भएको एएफयूका निर्देशनालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलले जानकारी दिए ।

अमेरिका, इन्डोनेसिया, चीन, अष्ट्रेलियाबाट समेत विज्ञ, प्रध्यापक र विद्यार्थी उपस्थित भएर कार्यपत्र प्रस्तुत एवं छलफल हुँदैछ । सम्मेलनमा विभिन्न विषयका सयभन्दा बढी कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने कट्टेलले जानकारी दिए । 

कार्यक्रमकै अवसरमा दुई वटा पुस्तकसमेत विमोचन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्