भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो



नयाँदिल्ली,असार ५ । भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको हो ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ । यस्तै, अधिकारीले पीडित महिला र उनका तीन छोरीको पहिचान गरिनुका साथै भग्नावशेषबाट तीन वर्षीय बालकको शव पनि निकालिएको जानकारी दिए । 

सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना  मानिस बाढीले प्रभावित भएका छन् । बाढीले प्रभावित जिल्लाहरूको एक हजार ३७८.६४ हेक्टर बाली उत्पादन क्षेत्र असर पारेको छ  ।

हाल ४७० गाउँ पानीमा डुबेका एएसडिएमएले जनाएको छ । स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र खोलेको छ जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ । अधिकारीले राहत शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्