नुवाकोट शिवपुरीका अनाधिकृत होडिङ र फल्याक्स बोर्ड हटाइयो
नुवाकोट,असार ५ । जिल्लाको शिवपुरी गाउँपालिका क्षेत्रभित्र अनाधिकृत रुपमा राखिएका होडिङ र फल्याक्स बोर्ड हटाइएको छ । गाउँपालिका कार्यालयले ५० वटा अनाधिकृत होडिङ वोर्ड र फल्याक्स बोर्ड हटाएको जनाएको छ ।
गाउँपालिका क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग र छहरे-टोखा सडकखण्डको छेउछाउमा राखिएका मापदण्ड विपरितका होडिङ वोर्ड र फल्याक्स बोर्ड हटाइएको गाउँपालिकाले जनाएको हो । विज्ञापन प्रयोजनका लागि गाउँपालिकाको स्वीकृतबिना राखिएका विभिन्न संघ, संस्थाका २० वटा होडिङ वोर्ड र ३० वटा फल्याक्स बोर्ड हटाइएको गाउँपालिकाले जनाएको छ ।
सो क्रममा केहीलाई जरिवाना समेत गरिने गाउँपालिकाका एक कर्मचारीले बताए । ‘गाउँपालिका क्षेत्रभित्र मापदण्ड विपरीत राखिएका अनाधिकृत सबै होडिङ बोर्ड र फल्याक्स बोर्ड हटाएका छौं,’ उनले भने ।