पेट्रोलियममा सिन्डिकेटको झल्को



काठमाडौं,असार ४ । पेट्रोलियम पदार्थको बिक्री वितरण, व्यवस्थापन र ढुवानीमा दुई वर्षअघिसम्म रहेको सिन्डिकेट र कार्टेलिङको झल्को लिने गरी बन्द गराइएका पेट्रोल पम्प खुलेका छन् । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्याङ्करचालक सङ्घबिच चारबुँदे सहमति भएपछि सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण सुचारु भएको हो ।

अत्यावश्यक वस्तु सञ्चालन र अत्यावश्यक पदार्थ नियन्त्रणसम्बन्धी कानुनी व्यवस्थालाई चुनौती दिँदै पेट्रोलियम पदार्थको मूल्य घटेकै दिनदेखि चालक सङ्घका नाममा हडताल सुरु भएपछि सरकारलाई झस्काएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘अत्यावश्यक वस्तुमा कुनै प्रकारको हडताल, बन्द वा विरोध गरी ढुवानी र वितरण प्रणाली अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्था’ लाई चुनौती दिनु गलत भएको प्रस्ट पारिन। 

उनले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य निर्धारण गरेर नागरिकलाई राहत दिने बेलामा हडताल गर्नु सान्दर्भिक नहुने बताइन । उनले कुनै सन्दर्भमा समस्या भए संवाद गर्न सरकार तयार रहेको प्रस्ट पारिन । उनले भनिन, “अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि बढ्ने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा नघट्ने विगत पनि थियो । अहिले सरकारले स्वचालित मूल्य प्रणाली लागु गरेको छ । नागरिकलाई यसमा सबैको साथ सहयोग हुनु पर्छ । नागरिकले सहुलियत प्राप्त गर्ने कुरा सबैका निम्ति राम्रो हो । विभिन्न बहानामा हड्तालमै उत्रिनु बेठिक छ ।”

प्रतिक्रिया दिनुहोस्