बुटवलमा महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम सम्पन्न



बुटवल,असार ४ । न्यू बिजनेस एज प्रालिको आयोजना तथा सिद्धार्थ बैंक लिमिटेडको प्रायोजनमा आज यहाँ महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता तथा उद्यमशीलता नामक एक दिने तालिम कार्यक्रम सम्पन्न भयो । 

कार्यक्रमका सभापतिसमेत रहेका न्यू बिजनेस एज प्रालिका प्रधानसम्पादक मदन लम्सालले महीलाहरूलाई उद्यममा लाग्न प्रेरित नगरेसम्म देशमा उद्यमशीलताको विकास हुन गाह्रो हुने बताएका छन् । 

उद्यमशीलताका विकासकै लागि न्यू बिजनेस एज प्रालिले केही वर्षदेखि देशका विभिन्न स्थानमा गएर महिलाहरूलाई वित्तीय साक्षरता तथा उद्यमशीलताको तालिम दिने गरेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा बुटवल उपमहानगर पालिकाका मेयर खेलराज पाण्डेले महिला उद्यमीका लागि उपमहानगरपालिकाले विभिन्न तालिम दिने गरेको र आगामी दिनमा पनि सो कार्यक्रमलाई निरन्तरता दिने बताए । ‘यो वर्ष ५०० महिला उद्यमीहरूलाई खासगरी उत्पादनमूलक क्षेत्रमा विभिन्न शीपमूलक तालिम दिइएको र साउनदेखि वर्षमा करीब ३ हजार महिला उद्यमीहरूलाई त्यस्तै तालिमहरु दिने लक्ष्य लिएका छौं,’ उनले भने । 

बुटवल उपमहानगरपालिकाले खर्च कम गर्ने र बचत गर्ने भन्ने खालका तालिमहरू पनि दिने गरीएको पनि मेयर पाण्डेले जानकारी दिए ।

कार्यक्रममा स्रोत व्यक्ति नेपाल महिला उद्यमी महासंघकी उपाध्यक्ष वसन्ती प्रधानले मानिसका विभिन्न समस्याको समाधान गर्ने क्रममा उद्यमी बन्न सकिने बताइन् । आफूलाई रुचि भएको कामलाई पनि व्यवसाय बनाउन सकिने र त्यसका लागि आफ्नो विभिन्न शीपहरू, जस्तै ः उत्पादनको गुणस्तर, प्याकेजिङ, बजारीकरण, निखार्दै जानुपर्ने उनको भनाइ छ । 

अर्का स्रोत व्यक्ति सगुण खनालले सफल उद्यमी कसरी बन्नेबारे बताए । साथै उनले सरकारी निकाय तथा बैंकहरूले महिला उद्यमीलाई दिने सुविधा कसरी प्राप्त गर्ने भन्नेबारे जानकारी दिए । 

बुटवलको वडा नम्बर ८, का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले उद्यमीहरूले जे काम गर्नका लागि बैंकबाट ऋण लिएको हो, त्यसैमा खर्च गर्नुपर्नेमा अन्यत्र, जस्तै ः घरजग्गा, शेयर बजार आदिमा डाइभर्ट गर्ने गरेको पाइएको बताए । त्यसले उद्यमशीलतामै विचलन ल्याउने उनको भनाइ छ । 

कार्यक्रममा सिद्धार्थ बैंक, बुटवल शाखाका प्रमुख चन्द्रदेव पौड्यालले बैंकले महिला उद्ममीहरूलाई दिइरहेका विभिन्न सुविधाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा महिला उद्यमी संघ, रुपन्देहीकी अध्यक्ष अनिता देवी चुदाली, महिला उद्यमी संघ, कर्णालीकी अध्यक्ष शिला नेपालीले पनि महिला उद्यमीलाई उक्त तालिम निकै उपयोगी भएको बताइन् । 

सिद्धार्थ कटेज, बुटवलमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल, बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन महर्जन, महिला उद्यमी महासंघकी केन्द्रीय कोषाध्यक्ष सविता सुवेदी, नेपाल घरेलु तथा साना उद्योग महासंघ, बुटवलका अधिकारीलगायत करीब १४० जना महिला उद्यमीको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्