विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा



काठमाडौं,असार ४ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनबर्ग नेपालको पहिलो औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । 

नेपाल सरकार र अन्य सरोकारवालासँग भेटघाट गर्न तथा न्यून आय भएका मुलुकका लागि विश्व बैंकको कोष अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए)को तेस्रो पुनःपूर्ति बैठकको अध्यक्षता गर्न उनी नेपाल आएका हुन् । 

पाँच दिने भ्रमणका क्रममा उनीे प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव वैकुण्ठ अर्याल र विकास साझेदारहरूसँग भेटवार्ता गर्नेछन् ।

यस्तै, उनी जुन १८–२१ (असार ४–७)मा काठमाडौंमा नेपाल सरकारले आयोजना गर्न लागेको तेस्रो आईडीए २१ पुनःपूर्ति बैठकको अध्यक्षता गर्नेछन् । आईडीए विश्व बैंकको एक हिस्सा हो, जसले विश्वका कम आय भएका देशहरूलाई सहयोग गर्दछ । 

सन् २०२४ मा आईडीएले दाता र ऋणी मुलुकहरूसँग मिलेर विश्वव्यापी विकास लक्ष्यहरू पूरा गर्न प्रयोग गरिने स्रोतहरूको पुनःपूर्ति गर्न काम गरिरहेको छ । 

काठमाडौंमा हुने चार दिने आईडीए २१ को बैठकमा ६५ दातृ सरकारका अधिकारी र ऋण लिने सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुनेछन् । बैठकमा प्रस्तावित आईडीए २१ नीतिकेन्द्रित क्षेत्र अर्थात् जनता, ग्रह, समृद्धि, पूर्वाधार र डिजिटलीकरणका विषयमा छलफल हुनेछ ।  

ट्रोटसेनबर्गले आईडीएले लगानी गरेको भूकम्प आवास पुनर्निर्माण परियोजनाको पनि भ्रमण गर्नेछन् । 

बैठकमा विश्व बैंक समूहका अन्य वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनेछन्, जसमा विश्व बैंकका प्रबन्ध निर्देशक एन्ना बजेर्डे र प्रबन्ध निर्देशक तथा विश्व बैंक समूहका प्रमुख वित्तीय अधिकृत अंशुला कान्त पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्