बागमती नदीमा छोडियो एक लाख माछाका भुरा



काठमाडौं,असार १ । बागमती नदीमा एक लाख माछाका भुरा छोडिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका हुँदै बग्ने बागमती नदीमा एक लाख २५ हजार माछाका भुरा छाडिएको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रबर्द्न एवम् संरक्षण केन्द्र हेटौँडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका माछाका भुरा छोडेको हो । प्राकृतिक जलाशय मत्स्य प्रबर्द्धन एवम् संरक्षण केन्द्रले प्राकृतिक जलाशायमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातका माछाका भुरा छोडिएको केन्द्रका वरिष्ठ  मत्स्य विकास अधिकृत सरोज कुमार यादवले जानकारी दिए ।

बागमती नदीमा आश्रित थुप्रै परिवार रहेकाले उनीहरुलाई समेत ध्यान दिएर माछा नदीमा छोडेको यादवले बताए । यहाँ माझी समुदायको बाहुल्यता रहेको र माछा मारेरै उनीहरुले जिविका धान्ने गरेपनि अहिले नदीमा माछा नपाइदा उनीहरुको परम्परागत पेशा नै सङ्कटमा परेको उनले बताए । नदीमा माछा लोपभएसँगै अहिले गोही, चराहरु र जलसँग आश्रित जिवजन्तु सङ्कटमा पर्दै गएका छन् । माछा धेरै जीवजन्तुको आहारा भए पनि यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने भएकाले माछाको सङ्ख्या वृद्धि गर्न, नदीमा आश्रित परिवारलाई राहात दिन र पर्यावरण संरक्षणमा सहयोग पुग्ने केन्द्रको विश्वास छ । प्रति माछाका भुरा ७५ पैसामा खरिद गरी नदीमा छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्