पाठेघर खस्नेको निःशुल्क उपचार



काठमाडौं-असार १। ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा ‘लगान लागेको, वनको लागेको’ भनेर आफ्नो जटिल रोग लुकाएरै बस्न बाध्य छन् । त्यसमाथि आफ्नो गोप्य अङ्गमा रोगबारे खुलेर आफन्तलाई भन्ने आँटसमेत गर्दैनन् । 

तर सिन्धुपाल्चोक पिस्करकी ६७ वर्षीय नेप्टी थामीलाई अहिले थाहा भयो, पाठेघर खस्ने रोगको न्यूनतम खर्चमै सहज शल्यक्रिया गरेपछि निको हुने रहेछ । उहाँ वर्षौंअघिदेखि पाठेघर खस्ने (आङ खस्ने) समस्याले पिरोलेको थियो । धेरैबेर उभिँदा र थोरै गह्रौँ भारी बोक्नासाथ पाठेघर खसिहाल्थ्यो । उहाँले अर्थिक अभावका कारण आङ खस्ने रोगको उपचार गर्न सक्नुभएको थिएन । उहाँले रोग पहिचान गर्न पनि सक्नुभएको थिएन । 

तर सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाले ‘आमा बचाऔँ’ अभियान सञ्चालन गरेर पालिकाका आमाहरूका लागि वरदान साबित हुने गरी पाठेघर खस्ने रोगको निदान गर्न थालेपछि उनलाई वर्षौंदेखि बोकेको भारी बिसाए जस्तो महसुस भएको छ । उनलाई अब गाउँ गएर सबै काम सजिलै गर्न सक्ने भएकी छु भन्ने महसुस भएको छ । उनले भन्नुभयो, “दस वर्षदेखि आङ खस्ने समस्या थियो । पालिकाले काठमाडौँसम्म ल्याएर उपचार भएपछि रोग निको भयो ।” त्रिपुरासुन्दरी चौथलीकी ५६ वर्षीया मैया श्रेष्ठको पाठेघर खस्ने समस्या ४५ वर्षदेखि थियो । उनले भने, “उपचार गर्न पैसा थिएन । काठमाडौँसम्म ल्याइदिने मानिस थिएनन् । उपचार गर्दा निको हुने रहेछ । गाउँपालिकाले निःशुल्क उपचार गराइदियो । मलाई नयाँ जीवन पाए जस्तै भएको छ ।” 

उपचारमा पालिकाको पहल

सरकारी तथ्याङ्क अनुसार बर्सेनि ३० हजारभन्दा धेरै महिलाको पाठेघर खस्ने रोगको शल्यक्रिया हुँदै आएको छ । आङ खस्ने समस्या भएका महिलाको सङ्ख्या सहरभन्दा गाउँमा धेरै छ । गत वर्ष प्रसूतिगृहमा पाँच सय जनाको आङ खस्ने योजना अनुसार शल्यक्रिया गरिएको थियो ।

यसैबिच त्रिपुरासुन्दरी गाउँपालिकाले पालिकाका आर्थिक अवस्था ज्यादै नाजुक भएका महिलाका लागि काठमाडौँ ल्याएर पाठेघर झर्ने रोगको शल्यक्रिया आरम्भ गरेको छ । पालिकाले २४ जना महिलालाई भक्तपुर अस्पतालमा ल्याएर निःशुल्क शल्यक्रिया गरेको छ । २४ जनामध्ये १७ जना महिलाको आङ खस्ने रोगको निःशुल्क शल्यक्रिया गरेको हो ।   अन्य सात जना महिलाको विभिन्न रोगका कारण पाठेघर खस्ने रोगको शल्यक्रिया हुन सकेन । 

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले पालिकाले आर्थिक अभावका कारण उपचार गर्न नसकेर वर्षौंदेखि रोग लुकाएर बसेका महिलाको पाठेघर झर्ने रोगको उपचार गराइएको बताए । उनले गाउँपालिकाले गत वर्ष पनि पालिकाबाट २१ जनालाई थापाथलीस्थित प्रसूतिगृहमा ल्याएर आङ खस्ने रोगको शल्यक्रिया गरेको जानकारी दिए । 

उनका अनुसार पालिकाले ‘आमा बचाऔँ’ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत आङ खस्ने समस्या भएका महिलाको शल्यक्रियामा लाग्ने सम्पूर्ण खर्चसहित सिन्धुपाल्चोकदेखि काठमाडौँ लाने, बस्ने, खाने र ल्याउने व्यवस्था गरिएको बताए । उनले गाउँका महिलाले आफ्नो रोगबारे खुलेर भन्न नसक्दा अकालमा ज्यान गुमाउनुपरेको अवस्थालाई दृष्टिगत गरी अभियान सञ्चालन गरेको बताए ।गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्