रुसको जफत सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर कर्जा दिन जी–७ सहमत, के छ रुसको प्रतिक्रिया ?



एजेन्सी,असार १ । विश्वका ठूला तथा विकसित अर्थतन्त्र भएका ७ देशको समूह जी–७ ले युक्रेनलाई ५० अर्ब अमेरिकी डलर कर्जा दिनका लागि रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्न सहमति दिएको छ । यो रकम युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्नेछ । 

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसका लागि यो अर्को चेतावनी भएको बताएका छन् । रुसले भने  यस सम्झौताको परिणाम ‘धेरै पीडादायी’ हुने बताएको छ । 

यो वर्षको अन्त्यसम्ममा उक्त रकम आउने अपेक्षा गरिएको छैन । तर, यसलाई युक्रेनको युद्धको लागि तयारी गर्न र उनीहरूको अर्थव्यवस्थालाई समर्थन गर्न दीर्घकालीन समाधानको रूपमा हेरिएको छ ।

इटालीमा जारी जी–७ शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति बाइडनले युक्रेन र अमेरिकाबीच १० वर्षे द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौतामा युक्रेनलाई अमेरिकी सेना र तालिमको माग गरिएको छ । तर, युक्रेनमा युद्ध लड्नका लागि आफ्ना सेना पठाउन अमेरिका बाध्य छ भन्ने उल्लेख गरिएको छैन । 

‘रूसका लागि सबक’

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपियन युनियन र जी–७ ले रुसको करीब ३२५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरेका थिए । उक्त सम्पत्तिबाट हरेक वर्ष ३ अर्ब अमेरिकी डलर ब्याज आम्दानी हुने गरेको छ । 

जी–७ योजनाअन्तर्गत युक्रेनका लागि अन्तरराष्ट्रिय बजारबाट लिएको ५० अर्ब अमेरिकी डलरको ऋणको वार्षिक ब्याज तिर्न ३ अर्ब डलर खर्च हुनेछ ।

दक्षिणी इटालीको पुलियामा आयोजित शिखर सम्मेलनमा राष्ट्रपति बाइडेनले युक्रेनलाई ५० अर्ब अमेरिकी डलर ऋण दिने बताएका थिए । यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूहरू पछाडि नफर्कने कुराको स्मरण गराउने उनको भनाइ थियो । 

राष्ट्रपति जेलेन्स्कीले अमेरिका र उसका अन्य सहयोगी राष्ट्रलाई सहयोगका लागि धन्यवाद दिएका छन् । ‘यो वास्तवमै ऐतिहासिक दिन हो । सन् १९९१ मा युक्रेन स्वतन्त्र भएयता युक्रेन र संयुक्त राज्य अमेरिकाबीच भएको यो सबैभन्दा बलियो सम्झौता हो,’ नयाँ सुरक्षा सम्झौतालाई संकेत गर्दै उनले भने ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाजस्ता धनी देशहरू सम्मिलित जी–७ समूह युक्रेनको महत्त्वपूर्ण आर्थिक र सैन्य समर्थक रहँदै आएको छ ।

यो पैसाले के हुन्छ ?

जी–७ का अन्य नेताहरूले पनि ५० अर्ब अमेरिकी डलरको ऋण सम्झौताको प्रशंसा गरेका छन् ।

जी ७ देशहरुले यसमा ब्याज मात्र होइन, ३०० अर्ब डलरको सम्पूर्ण जम्मा रकम जारी गरोस् भन्ने चाहन्थे । तर, युरोपियन सेन्ट्रल बैंकले यो सम्भावनालाई अस्वीकार गरेको छ ।

यसअघि अमेरिकाले युक्रेनलाई ६१ अर्ब अमेरिकी डलर सहयोग गरेको थियो ।

अमेरिकी प्याकेजको अर्थ युक्रेनको फ्रन्टलाइनमा क्षेप्यास्त्र बढाउने बुझिएको थियो । तर, यो पैसा सम्भवतः यो वर्षसम्म युक्रेनलाई उपलब्ध हुने छैन, त्यसैले यसले वर्तमान युद्धको प्रकृतिमा थोरै प्रभाव पार्नेछ ।

अहिले युक्रेनले तत्काल थप हतियारको आवश्यकता रहेको बताएको छ । युक्रेन रुसले आफ्ना शहर र पावर स्टेसनमा गर्ने क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई विफल पार्न चाहान्छ । 

यसका साथै उसलाई लामो समयदेखि प्रतीक्षा गरिएको एफ–१६ लडाकू विमानको पनि आवश्यकता छ । उक्त लडाकू विमान यो गर्मीयाममा डेलिभरी हुने अपेक्षा गरिएको छ ।

जी–७ शिखर सम्मेलनलाई सम्बोधन गर्दै जेलेन्स्कीले नयाँ सुरक्षा सम्झौतामा अमेरिकाबाट लडाकु विमानको ढुवानी पनि समावेश गरिएको बताए ।

जेलेन्स्कीका एक निकट सल्लाहकारले रुसलाई यसरी सजाय दिने पश्चिमाहरूको निर्णय युद्धको टर्निङ प्वाइन्ट भएको बताएका छन् ।

रसियाको सेन्ट्रल बैंकको जफत गरिएको अधिकांश सम्पत्ति बेल्जियममा छ । अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि देशले रुसबाट ती सम्पत्ति जफत गरेर युक्रेनलाई दिन सक्दैनन् ।

जी–७ मा यो निर्णयको आधिकारिक घोषणा हुनुअघि नै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले यस्तो भए ‘निकै पीडादायी’ साबित हुने चेतावनी दिएकी थिइन् । बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्