यो साता करीब ८ अर्बले बढ्यो कारोबार रकम



काठमाडौं,असार १ । यो साता धितोपत्र दोस्रो बजारले सकारात्मक गति लिएको छ । गत साताभन्दा यो साता बजार मापक नेप्से परिसूचक १ दशमलव ६६ प्रतिशत अर्थात् ३४ दशमलव ५१ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७७ दशमलव ७८ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ११२ दशमलव २९ विन्दुमा बन्द भएको हो । 

यो साता पाँच कारोबार दिनमा बजार दुई दिन घटेको छ भने तीन दिन बढेको छ । शुरुको कारोबार दिनमा ४ दशमलव ५९ अंक घटेको बजार दोस्रो कारोबार दिनमा ८ दशमलव ९० अंक, तेस्रो दिन ३३ दशमलव १५ अंक र चौथो दिन ६ दशमलव ३७ अंक बढेको थियो । अन्तिम कारोबार दिन भने निरन्तर बजार बढेसँगै नाफा बुक गर्नेहरू हाबी हुँदा बजार ९ दशमलव ३२ अंक घटेर करेक्सन भएको छ । 

वित्तीय प्रणालीमा तरलता पर्याप्त रहेको र निक्षेपको ब्याजदर निरन्तर घट्दै गएको प्रभाव यो साता धितोपत्र बजारमा देखिएको हो । चालू आर्थिक वर्ष सकिन लाग्दा लगानीकर्ताहरू वित्तीय अवस्था बलिया भएका कम्पनीहरूको शेयर खरीदमा सक्रिय हुन थालेको ब्रोकर व्यवसायीले जानकारी दिएका छन् ।

गत वर्ष धेरै कम्पनीले लाभांश वितरण गरेको अवस्थामा आगामी वर्ष राम्रा वित्तीय अवस्था भएका कम्पनीले आकर्षक लाभांश दिने अपेक्षामा यतिबेला लगानीकर्ता कारोबारमा सहभागी भएको ब्रोकरहरूको बुझाई छ । पछिल्लो समय कारोबार रकममा आएको वृद्धिलाई हेर्दा बजारमा लगानी भित्रिने क्रम बढिरहेको प्रष्ट देखिन्छ ।

यो साता पाँच कारोबार दिनमा २८ अर्ब ५७ करोड २१ लाख रुपैयाँभन्दा बढीको ६ करोड १९ लाख ९७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । औसतमा यो साता ५ अर्ब ७१ करोड ४४ लाख रुपैयाँभन्दा बढीको १ करोड २३ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साताभन्दा यो साता कुल कारोबार रकम ७ अर्ब ७९ करोड ११ रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ८३ लाख १७ हजारभन्दा बढी भएको छ । 

गत साता २० अर्ब ७८ करोड १० लाख रुपैयाँभन्दा बढीको ४ करोड ३६ लाख ७९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । औसत कारोबार भने गत साता ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँभन्दा बढीको ८७ लाख ३५ हजारभन्दा बढी कित्ता भएको थियो ।

बजार बढेसँगै धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३३ खर्ब ४९ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम कारोबार दिन यो पूँजीकरण रकम ३२ खर्ब ९४ अर्ब ४७ करोड १७ लाख रुपैयाँभन्दा बढी थियो । गत साताको तुलनामा यो साताको कारोबारमा कुल बजार पूँजीकरण ५४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो ।

सर्वाधिक कमाउनेमा वित्त समूह, गुमाउनेमा म्युचुअल फण्ड

यो साता व्यापारिक र म्युचुअल फण्ड बाहेकका सबै समूहगत परिसूचक बढेका छन् । व्यापारिक समूहको परिसूचक २ दशमलव ८९ प्रतिशत र म्युचुअल फण्डको ३ दशमलव ३६ प्रतिशत घटेको छ । यो साता समग्र बजार बढेको अवस्थामा यी दुई समूहको परिसूचक भने घटेको हो ।

यो साता वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव ६७ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत्को ४ दशमलव ३८ प्रतिशत, विकास बैंकको २ दशमलव ६३ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव २२ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ६८ प्रतिशत, लगानीको १ दशमलव १५ प्रतिशत, बैंकिङको १ दशमलव १२ प्रतिशत, जीवन बीमाको १ दशमलव ११ प्रतिशत, लघुवित्तको १ दशमलव शून्य ६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६० प्रतिशत र अन्यको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ ।

परिसूचकमा भएको घटबढका आधारमा यो साता वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाउँदा म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्