बजारमा विषादी राखेको आँप छ्यापछ्याप्ती



सर्लाही,जेठ ३२ ।सर्लाहीका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो ।

सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको मलङ्गवा, बरहथवा, हरिवन, लालबन्दी, बयलवासलगायतका प्रत्येक बजारमा समय अगावै औषधि हालेर पकाइएको आँप व्यापारीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् । देशकै सबैभन्दा ठुलो सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रकै अगाडि विषादी हालेर पकाइएको आँप खुलेआम बिक्री भइरहेको छ । बागवानी केन्द्र अगाडिको पूर्व पश्चिम राजमार्ग किनारमा बसेका आधा दर्जन बढी व्यापारीले विषादी हालेर पहेँलो हुने गरी पकाएको आँप बागवानीको भन्दै खुलेआम बेचिरहेका हुन् । 

जब कि बागवानीको आँप अहिलेसम्म बाहिर बिक्री गरिएकै छैन । बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले सडक किनारमा राखिएको आँप बागवानी केन्द्रको नरहेकाले भ्रममा नपर्न आग्रह गरेका छन् । 

बागवानी केन्द्रको आँप बाहिर बेच्न राखिएकै छैन । “रोडमा बेच्न राखिएको आँप यहाँको होइन, त्यो सबै औषधि हालेर पकाइएको आँप हो,” यादवले भने, “बागवानी केन्द्रको त अधिकांश आँप पाक्ने बेला भएकै छैन, बम्बई आँप भर्खरै दुई/चार वटा पाकेर झर्न थालेको छ ।”

प्रतिक्रिया दिनुहोस्