स्वास्थ्य मन्त्रालयमा छुट्याएको बजेट अत्यन्त न्यून भयो : सांसद केसी



काठमाडौ,जेठ ३१ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् ।

उनले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरू करिब आठ हजार रहेको बताए । उनले नेपालमा जनसङ्ख्या वृद्धि, स्वास्थ्य संस्थाहरूको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको जानकारी दिए ।

सांसद केसीले विभिन्न समयमा सरकारहरूले एकै दिन ७५३ स्थानमा १५ शय्याका अस्पताल उद्घाटन भए पनि जनशक्ति परिचालनको अवस्था चिन्ताजनक रहेको बताए । उनले भौतिक संरचना र उपकरणको बारेमा पनि सरकारले सोच्न आवश्यक रहेको जिकिर गरे । उनले तीन करोड जनसङ्ख्या भएको देशमा दुई हजारभन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्यूनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताए । उनले हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुर्‍याउन आवश्यक रहेको भन्दै दूरदराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोल नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्