बाँकेको एक मन्दिरको गौशालाबाट हराए ४५ वटा गाई



बाँके,जेठ ३० । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ नन्कौपुरस्थित पोखराथान (पोखरामाता) मन्दिरको गौशालाबाट गाईहरू हराएका छन् ।

सोमबार राती मन्दिरको गौशालामा रहेका करिब ४५ वटा गाईहरू हराएको मन्दिरका पुजारी राजकुमार चौधरीले जानकारी दिए । “मन्दिरको गौशालामा करिब ४५ वटा गाईहरू थिए, बिहान आफै चर्नका लागि बाहिरतिर जाने र दिनभरि चरेर साँझ परेपछि आफै गौशालामा गाई आउने गरेका थिए ।” उनले भने, ‘‘सोमबार साँझ पनि गाईहरू चरेर फर्के, तर मङ्गलबार बिहान गौशालामा एउटा पनि गाई थिएन, राति नै कसैले चोरेर लग्यो ।”

मन्दिरभित्रको खुल्ला क्षेत्रमा गाईहरू रातीमा आएर बस्ने गरेको उनले बताए । गाई हराएको विषयमा आफूले स्थानीयबासीसँग छलफल गरेको तथा प्रहरी प्रशासनमा कतैपनि खबर नगरेको बताए। उनले स्थानीय मिलेर गाईको खोजतलास गरिने बताए ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष शोभाराम मौर्यले गत वैशाख १० गतेसम्म गाईको संरक्षण गरी सुरक्षा प्रदान गर्दै आए पनि वैशाख १० गतेपछि भने समितिले गाईको सुरक्षा तथा संरक्षणमा ध्यान नदिएको बताउनुभयो । उहाँले गाउँमा रहेका छाडा तथा खुल्ला गाईहरूलाई गौशालामा ल्याएर राखेर स्थानीयद्वारा पैसा तथा अन्न उठाएर गाइको रेखदेखका लागि गाई हेरालु राखिएको तर पछि गाउँलेहरूले अन्न तथा पैसा उठाउन छाडेपछि गाई हेरालु पनि गएपछि बेवारिसे जस्तो अवस्थामा गाईहरू रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्