धितोपत्र बोर्डको आफ्नै भवन बनाउनका लागि काम भइरहेको छ : कार्यवाहक अध्यक्ष राना
काठमाडौं,जेठ २६ । नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाले बोर्डको आफ्नै भवन निर्माणका लागि काम अघि बढिरहेको बताएका छन् । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड ३१ वर्षदेखि भाडाको भवनमा सञ्चालनमा छ ।
शुक्रवार धितोपत्र बोर्डको ३२ औं वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष रानाले बोर्डको संस्थागत भवन बनाउनका लागि उपत्यका प्राधिकरणसँग जग्गा प्राप्तिका विषयमा छलफल भइरहेको जानकारीसमेत गराए । प्राधिकरणलाई बोर्डले जग्गा खरीद गर्न तीन वर्षअघि नै पैसा भुक्तानी गरिसकेको भनाइसमेत रानाको छ । बोर्डको संस्थागत भवन निर्माणका लागि अर्थमन्त्रालय र त्यसअन्तरर्गतका निकायहरूसँग समन्वय गर्ने रानाले बताए ।
सरकारी स्वामित्वको एक महत्त्वपूर्ण निकाय लामो समयदेखि आफ्नो भवनबिना नै सञ्चालनमा रहेको अवस्थालाई उजागर गर्दै कार्यवाहक अध्यक्ष रानाले यसको निकासका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल सरकारले विश्वास गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकाे बताउँदै उनले धितोपत्र बजारलाई चलायमान बनाउन पुसदेखि रोकिएका कामकारवाही अघि बढाउने गरी आफू पनि अध्ययन गरिरहेको जानकारी दिए ।
नियामक निकायले पूँजीबजार विकासका लागि निर्धारण गरेका ऐन कानून, नियामावली तथा निर्देशिकालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्नेमा पनि कार्यवाहक अध्यक्ष रानाले जोड दिएका छन् ।