निजीक्षेत्रका व्यवसायलाई अवार्ड
काठमाडौं,जेठ २५ । नेपाल बिजनेस इनिसिएटिभ (एनबीआई) ले विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशील व्यवसायलाई सम्मान गरेको छ । सम्मानित हुनेमा बहुराष्ट्रिय कम्पनी विधामा एनसेल आजियाटा लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेड, ठूला उद्योग विधामा पञ्चकन्या स्टिल प्रालि र द नेपाल डिस्टिलरिज प्रालि, मझौला उद्योगी विधामा नेपाल डेरी प्रालि र कञ्चनजंगा टी इस्टेट एन्ड रिसर्च सेन्टर प्रालि तथा लघु, घरेलु तथा साना उद्योग विधामा महागुठी र नेपाल नटक्राफ्ट सेन्टर प्रालि रहेका छन् ।
उक्त सम्मान विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा गरेको योगदानस्वरुप प्रदान गरिएको एनबीआईले जनाएको छ । कार्यक्रम एनबीआईले यूएसएआईडीको तयार नेपाल परियोजनासँगको सहकार्यमा आयोजना गरेको हो । एनबीआईका अनुसार पुरस्कृत कम्पनी चयन गर्न विज्ञ सम्मिलित निर्णायक समिति गठन गरिएको थियो । समितिले देशभरिबाट प्राप्त मनोनयनबाट पुरस्कृत कम्पनी चयन गरेको हो । बहुराष्ट्रिय कम्पनी, ठूला, मझौला र लघु, घरेलु तथा साना उद्योग गरी चार विधाबाट २–२ गरी ८ ओटा पुरस्कृत कम्पनी चयन गरिएको बताइएको छ ।
सोही अवसरमा नेपालमा व्यावसायिक उत्थानशीलताको प्रवर्द्धन तथा विकास विषयक गोष्ठी समेत आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले निजीक्षेत्रको यो प्रयास प्रशंसनीय भएको बताए । यसमा सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए । उनले निजीक्षेत्र मात्र नभई सरकार पनि विपद् जोखिमको न्यूनीकरण र पूर्वतयारीमा भन्दा राहत, उद्धार र प्रतिकार्यमा बढी केन्द्रित भएको र विपद् व्यवस्थापनको ९० प्रतिशतभन्दा बढी खर्च यिनै कार्यमा हुने गरेको बताए ।
यूएनडीआरआरले पहिचान गरेका ३०० भन्दा बढी प्रकोपमध्ये नेपालमा ४० जति मात्रैको रेकर्ड राखिने गरेको र नेपालमा विपद्बाट दैनिक औसत ५ जनाले ज्यान गुमाउने गरेकोले अब उत्थानशीलता वृद्धिमा काम गर्नु आवश्यक भएको उनले बताए । सचिव राउतले निजीक्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्वमार्फत आफ्नो उत्थानशीलता विकासमा लाग्न सुझाए ।
एनबीआईका अध्यक्ष कुशकुमार जोशीले सहभागीलाई विपद् व्यवस्थापनमा थप सजग गराई मुलुकभित्र र विदेशमा यस सम्बन्धमा गरिएका सफल प्रयास, चुनौती र सिकाइ आदानप्रदान गर्न उक्त कार्यक्रम साझा मञ्चको रूपमा स्थापित हुने बताए ।
समुदायलाई उत्थानशील बनाउनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकोले निजीक्षेत्रको पहल र प्रयासलाई सम्मान गरी निजीक्षेत्रको हौसला बढाउने, यस क्षेत्रमा जागरुकता सृजना गर्ने र क्रियाशीलता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एनबीआईको भनाइ छ ।
कार्यक्रमको पहिलो सत्रमा दुईओटा प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा उत्थानशील अर्थतन्त्र निर्माणमा विपद् व्यवस्थापनको महत्त्व र विपद् व्यवस्थापन तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा निजीक्षेत्रको बढ्दो भूिमकाबारे अन्तरक्रिया भएको संस्थाको विज्ञप्तिमा उल्लेख छ । छलफलका विज्ञ सहभागीले विपद् व्यवस्थापन र व्यवसाय निरन्तरतासम्बन्धी बुझाइ र सचेतनामै अझै काम गर्नुपर्नेमा जोड दिए । छलफलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहभागी तथा विज्ञले आफ्ना सुझाव र अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा एनबीआईका संस्थापक अध्यक्ष पद्म ज्योति, उपाध्यक्ष सुकुन्तलाल हिराचन, महासचिव सुरेन्द्रवीर मालाकार लगायत विपद् पूर्वतयारी तथा व्यवसाय उत्थानशीलता तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा कार्यरत निजीक्षेत्रका उद्यमी व्यवसायी, सरकारी निकायका प्रतिनिधि, कूटनीतिक निकाय, नागरिक समाज, दातृ संस्था, गैरसरकारी निकाय तथा सञ्चार क्षेत्र गरी करीब ३०० जनाको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ ।