सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित, अब नोट, राहदानी, हुलाक टिकट र स्टिकर स्वदेशमै छापिने
काठमाठौं,जेठ २५ । प्रतिनिधिसभाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैंकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनुपरेको बताइन् ।
उनले भने, ‘ती विषयहरुलाई स्वदेशमै छपाइ गर्न सकियो भने हाम्रा सुरक्षाको दृष्टिकोणले र वैदेशिक मुद्रा बाहिरिने कारणले पनि यो ठिक हुन्छ र बाहिरिँदै आएको मुद्रालाई स्वदेशभित्रै राख्न सकिन्छ भनेर नै विधेयक ल्याइएको हो । यो विधेयकमा छलफल हुँदैगर्दा केही विषय थपिएका छन् ।’
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल र रामकृष्ण यादवले भाग लिएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २७ गते आइतवार बिहान ११ बजे बस्नेछ । रासस