काठमाडौं महानगरपालिकाले अस्पतालहरूलाई भन्यो– १५ दिनभित्र आफ्नै फार्मेसी चलाउनू



काठमाडौं,जेठ २४ । आफ्नै फार्मेसी सञ्चालन नगरेका काठमाडौं महानगरपालिका क्षेत्रका अस्पतालहरूलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिइएको छ । 

महानगरपालिका क्षेत्रमा सञ्चालित अस्पतालहरूले आफ्नै फार्मेसी सञ्चालन नगरी अन्य व्यक्तिलाई बहालमा सञ्चालन गर्न दिइएको पाइएको भन्दै काठमाडौं महानगरपालिकाले बुधवार सूचनामार्फत अस्पताललाई उक्त निर्देशन दिएको हो । 

‘हाल काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी (औषधि पसल) सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू विक्री भइरहेको गुनासो प्राप्त आएकाले यो सूचना प्रकाशित गरिएको छ,’ महानगरले जारी गरेको सूचना  भएपछि महानगरले सूचना प्रकाशित गरेको बताएको छ ।

नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२, अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र सर्वोच्च अदालतबाट ००१–डब्लुओ–०९६९ को उत्प्रेषणयुक्त परमादेश मुद्दामा मिति २०७४ असोज २ मा भएको आदेश समेतका आधारमा अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था छ । 

काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धरले धेरैजसो अस्पतालहरूले फार्मेसीलाई बहालमा दिएर व्यावसायिक बनाइएको बताए । उनले सामुदायिक र सरकारी अस्पतालहरूले फार्मेसीलाई व्यावसायिक गर्न नहुने महानगरको नीति भएको बताए । उक्त सूचनालाई अटेर गरे महानगरले अर्को कदम चाल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्