नुवाकोट आएका एमाले नेता पोखरेलले भने-‘८४ अगाडी निर्वाचन भए पनि एमालेले बहुमत ल्याउँछ’
काठमाडौं,जेठ २२ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०८४ मा एमालेले एकल बहुतको सरकार बनाउने बताए ।
नेकपा एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशनमा पोखरेलले यस्तो बताएका हुन् । अहिलेको अस्थिरतालाई अन्त्य गरेर मिसन ८४ मा एमालेको एकल बहुमतको सरकार बनाउने पोखरेलको दावी छ । उनले ८४ अगाडी निर्वाचन भए पनि एमाले तयार रहेको बताए ।
उनले भने,‘मिसन ८४ अहिलेको अस्थिरतालाई अन्त्य गरेर एमालेको एकल बहुमतको सरकार बनाउनेछ । ८४ अगाडी निर्वाचन भए पनि एमाले तयार छ।’
अहिलेको सत्ता समीकरण एमालेको पहलमा भएको उनको भनाई छ । ‘अहिलेको समिकरण पुरानो गठबन्धन भत्काउन चाहन्थ्यौ । अहिलेको समिकरण एमालेको पहलमा भएको हो । मिसन ८४ सफल बनाउन गठबन्धन गर्नुपरेको हो’, उनले भने,‘एमाले माथी निक्कै प्रतिकुलता थिया,े त्यसलाई चिर्न सफल भएको छ । एमाले धुलोमा मिल्छ भन्ने भ्रम छरिएको थियो, त्यसलाई चिर्न सफल भएको छ । धुलो टकटक्याएर एमाले उठेको छ ।
छहरे टोखा सुरूङ मार्ग अहिले सरकारले बेवास्ता गरेको बताए । उक्त सुरुङ्ग मार्ग बनाउन एमाले नै सरकारको नेतृत्वमा पुग्ने पर्ने बताए । ‘छहरे टोखा सुरूङ मार्ग केपी ओली सरकारले चिनसँग सम्झौता गरेको थियो । तर, त्यसपछिका सरकारले कुरै उठाएनन् । छहरे टोखा सुरूङ मार्ग बनाउन एमाले फेरी सरकारको नेतृत्वमा पुग्नुपर्छ’, उनले भने ।