सिटिजन्स बैंकद्वारा अग्नि पीडितलाई सहयोग
काठमाडौं,जेठ २२। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सप्तरी राजविराजस्थित महादेवा गाउँपालिकाको चिम्टी टोलका ४६ घरधुरी अग्नि पीडितलाई राहतस्वरूप खाद्यान्न सामग्री लगायत लत्ताकपडा वितरण गरेको छ ।
गत वैशाख १८ गते भएको आगलागीबाट ती परिवारका घर तथा चौपाया जलेर नष्ट भएका थिए । घर जलेर घरबारविहीन भएका परिवारलाई सानै भए पनि सहयोग पुग्ने विश्वास बैंकको छ ।
राहत वितरण कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख, क्लस्टर प्रमुख, राजविराज शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारी तथा टोलका समाजसेवीको उपस्थिति थियो । बैंकले चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन तथा अन्य लत्ताकपडामा पाल, सारी तथा गम्छा वितरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।