नेपाल र म्यानमारबीच सफ्टवेयर व्यवसाय प्रवर्द्धनमा छलफल



काठमाडौं,जेठ २२। नेपाली राजदूतावास, यांगुनले शुक्रवार ‘नेपाल म्यानमार ट्रेड रिलेसन : प्रमोटिङ सफ्टवेयर विजनेस’ कार्यक्रम गरेको छ । यांगुनमा गरिएको उक्त कार्यक्रमको उद्देश्य नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यान्मार निर्यात गर्नका लागि सम्भावित क्षेत्र पहिचान गरी नेपाल र म्यान्मारका आइटी सेक्टरका सरोकारवालाबीच सम्बन्ध स्थापना गर्नु रहेको बताइएको छ ।

कार्यक्रममा म्यानमार डिजिटल इकोनोमी एसोसिएसन (एमडीईए)द्वारा म्यानमारको डिजिटल सेवा तथा सूचना प्रविधिबारे प्रस्तुतीकरण दिइएको थियो । कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिद्वारा नेपालको सूचना प्रविधि क्षेत्रमा हालमा भएको विकासबारे प्रकाश पारिएको थियो । साथै नेपाली आईटी कम्पनीले उपलब्ध गराउँदै आएका विभिन्न सेवाको संक्षिप्त विवरण तथा कार्यक्रममा सहभागी नेपाली आईटी कम्पनीको संक्षिप्त परिचय दिइएको थियो । कार्यक्रमको दोस्रो भागमा सहभागी आईटी कम्पनीले आफ्ना स्टल/बुथमा उत्पादन र सेवाको प्रदर्शन तथा बुथ भ्रमण गर्ने व्यक्तिसँगको अन्तरक्रिया गरेका थिए ।

म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले पछिल्लो समय नेपालको सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराए । नेपालको आईटी उत्पादन र सेवाको परिपक्वताको प्रशंसा गर्दै उनले नेपालको बैंकिङ र फिनटेक क्षेत्र आन्तरिक रूपमा विकसित तथा पूर्ण रूपमा भरपर्दो रहेको उल्लेख गरे । 

राजदूत घिमिरेले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्त्व दिएको भन्दै हालको निर्यात ५०० मिलियन डलरबाट २५ बिलियन पुर्‍याउनुका साथै १५ लाख रोजगारी सृजना गर्ने महत्त्वाकांक्षी लक्ष्य घोषणा गरेको बताए । साथै नेपाल–म्यानमार व्यापारलाई पारस्परिक लाभका लागि पूरक बनाउन एकअर्काका आईटी र फिनटेक उत्पादन तथा सेवा, उद्यमीको सञ्जाल विस्तार गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा यांगुन क्षेत्रका मुख्यमन्त्री यु सु थिनले दुई देशका आईटी क्षेत्रबीचको सहकार्यलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे । म्यानमार सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत भेषराज खतिवडाले नेपाली कम्पनीलाई म्यानमारमा आईटी र डिजिटल सेवाको क्षेत्रमा विद्यमान खाडल पहिचान गरी लाभ लिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्