हाते कागजका सामान बनाउन प्रशिक्षक प्रशिक्षण
काठमाडौं,जेठ १८। नेपाल हाते कागज संघको संयोजनमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना भइरहेको छ । खासगरी नेपाली हाते कागजबाट तयार पारिएका सामानलाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न यो तालीमको आयोजना गरिएको बताइएको छ ।
जेठ १३ देखि शुरू भएको यो तालीम जेठ २७ गतेसम्म चल्ने बताइएको छ । तालीममा फोटो फ्रेम, पेन होल्डर, फाइल फोल्डर, विभिन्न साइजका खाम, ल्याम्पसेड, नोटबुक, प्याकिड बक्सका साथै ग्रिटिड कार्ड तयार गर्न सिकाइने बताइएको छ ।
तालीममा प्रशिक्षक रामकृष्ण लिगलले पुल्चोकस्थित व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तालीम कक्षमा उक्त प्रशिक्षण दिइरहेका छन् । सो तालीम एक हप्तासम्म दिइसकेपछि नेपाली हातेकागज उद्योगमा गई सिकेका सामान तयार गर्न सिकाइने संघका अध्यक्ष किरणकुमार डंगोलले जानकारी दिए । प्रशिक्षणमा तयार गरिएका ती सामानको बजार प्रवर्द्धनमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आवश्यक सहयोग उपलब्ध गराउने कुरा उनले बताए ।