नुवाकोटमा करोडौँको लगानीमा पार्टी प्यालेस र फर्निसिङ खुल्यो



नुवाकोट,जेठ १७ । आर्थिक मन्दीले सबै प्रकारको व्यापार, व्यवसाय धराशायी बनिरहेको अहिलेको अवस्थामा नुवाकोटको बट्टारमा भने करोडौँको लगानीमा बैंक्वेट एन्ड रिसोर्ट र फर्निचर तथा फर्निसिङको शोरुम खुलेको छ । आँट गरेर आर्थिक गतिविधि चलायमान बनाउन नुवाकोटका रानीमौरी समूह र राजु गिरी दाजुभाइले नयाँ व्यवसायमा लगानी गरेका छन् ।

पछिल्लो समय नुवाकोटको प्रमुख व्यापारिक केन्द्र बट्टारमा हरि र राजु गिरीले फर्निचर एन्ड फर्निसिङको शोरुम खोलेका छन् भने रानीमौरी समूहमा आबद्ध १० जना युवा व्यवसायीको लगानीमा बैंक्वेट एन्ड रिसोर्ट खुलेको छ । फर्निचरका सम्पूर्ण सामानदेखि दैनिक घरायसी उपयोगमा आउने सम्पूर्ण सामग्री एकै स्थानमा उपलब्ध गराएको नुवाकोट फर्निचर एन्ड फर्निसिङ प्रा.लि.का सञ्चालक राजु गिरीले जानकारी दिए । उनी र हरिहर गिरीले करोडभन्दा माथि लगानी गरेको फर्निचर एन्ड फर्निसिङ शोरुममा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा समेत सामान लिने सुविधा रहेको छ ।

टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, पङ्खालगायत सम्पूर्ण इलेक्ट्रिक सामान किस्ताबन्दी र होलसेल तथा खुद्रामा बिक्रीको सुविधा रहेको सञ्चालकले बताएका छन् । रानीमौरी बैंक्वेट एन्ड रिसोर्टले नुवाकोटमा सुविधासम्पन्न र स्तरीय पाँच हजारजनासम्म अट्ने पार्टी हलसहित स्विमिङ पुल र बाल उद्यानको निर्माण थालेको छ । रानीमौरीमा आबद्ध १० जना युवा व्यवसायीले सुरुमा पाँच करोड लगानीबाट सुरु गरेको बैंक्वेटमा पार्टी प्यालेस सञ्चालन भइसकेको छ भने बाल उद्यान र स्विमिङ पुल निर्माणको प्रक्रिया सुरु भएको समूहका अध्यक्ष रामेश्वर गुणीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्