१० प्रतिशत अग्रिम आयकरमा व्यापारीको आपत्ति, ‘आलु–प्याज बेचेर ४० प्रतिशत नाफा हुन्छ ?’



वीरगञ्ज,जेठ १७ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमार्फत भन्सारमा उठाइने अग्रिम करको दर बढाएकोमा आयातकर्ताले आपत्ति जनाएका छन् ।सरकारले बजेट मितव्ययी बनाउनुको सट्टा बढी खर्चिलो बनाएको र स्रोत व्यवस्थापनका लागि जथाभावी कर उठाउन खोजेको आरोप आयातकर्ताको छ । 

भन्सारमा १० प्रतिशत अग्रिम कर लिने व्यवस्था अव्यावहारिक भएकोले त्यसलाई तत्कालै खारेज गरिनुपर्ने माग आयातकर्ता ओमप्रकाश मोरको छ । सरकारले १ दशमलव ५ प्रतिशतदेखि १० प्रतिशतसम्म अग्रिम आयकर तोकेको छ । 

भन्सारमा १० प्रतिशत अग्रिम कर बुझाउनुपर्ने वस्तुमा अधिकांश आम उपभोगका दैनिक उपभोग्य वस्तु रहेको आयातकर्ताले बताएका छन् । सरकारले आलु र प्याजमा समेत १० प्रतिशत यस्तो कर असुल्ने भएको छ । तरकारी, आलु प्याज, माछाजस्ता वस्तुमा उच्च दरको अग्रिम करले यस्ता वस्तुको मूल्य अकासिने र आम उपभोक्ता मारमा पर्ने दाबी व्यवसायीको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेटमार्फत आलु र प्याजमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाएका थिए । एकातिर कर हटाएकोमा वाहवाही कमाउने अर्कातिर घुमाउरो तरिकाले कर असुल्ने नियत देखिएको व्यापारीको आरोप छ । 

यसअघि आलु र प्याजमा यस्तो कर १ दशमलव ५ प्रतिशत थियो । 

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार यसअघि ९ प्रतिशत भन्सार महशुल, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र अग्रिम आयकर गर्दा २३ दशमलव ५ प्रतिशत लाग्ने गरेको थियो । अब १९ प्रतिशत तिर्नुपर्ने भएको छ । 

सरकारले मूल्य अभिवृद्धि कर हटाएको देखाएर फेरि १० प्रतिशत करको भारी थपिदिएको राजपालले बताए ।

भन्सार विभागका अधिकारी बजेट भर्खरै आएकाले यसको प्रभाव थाहा पाउन केही दिन पर्खिनुपर्ने बताउँछन् । सूचना अधिकारी पुण्यविक्रम खड्का भन्छन्, ‘ बजेट भर्खरै आएको छ  । यसको प्रभाव र प्रतिक्रियाका लागि अहिले नै हतार हुन्छ ।’ 

सरकारले मैदा, आटा, पिठोलगायतको आयातमा २ दशमलव ५ प्रतिशत अग्रिम कर लिने भएको छ । यसरी लिइएको कर वर्षको अन्त्यमा मिलान हुने सरकारी अधिकारीले बताउँदै आए पनि वस्तुको भन्सार मूल्यमा १० प्रतिशत आयकर तिर्ने गरी नाफा नहुने दाबी आयातकर्ता मोरको छ ।  

‘सरकारले नै २० प्रतिशतभन्दा बढी नाफा लिन मिल्दैन भन्छ । योभन्दा बढी नाफा कमाए कालोबजारी हुन्छ । तर, १० प्रतिशत अग्रिम कर तिर्न त ४० प्रतिशत नाफा हुनुपर्‍यो,’ उनले भने, ‘के आलु, प्याज र तरकारी बेचेर यत्रो नाफा हुन्छ ?’ 

यस्तो व्यापारमा बढीमा १० प्रतिशतसम्म नाफा हुने भएकाले अग्रिम आयकर लिनैपर्ने हो भने पनि करको दर २ दशमलव ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवसायी मोरको आग्रह छ । 

प्रतिक्रिया दिनुहोस्