सहकारी छानबिन समितिमा जुट्यो सहमति
काठमाडौं,जेठ १५ ।विभिन्न सहकारीको बचत रकम अपचलन, हिनामिना र आर्थिक अनियमितताका सन्दर्भमा अध्ययन एवं अनुसन्धान गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेता र समितिको कार्यादेश बनाउने जिम्मा पाएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुटेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मङ्गलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकपछि समितिको कार्यादेश जारी हुने बताएका हुन् ।
मन्त्री गिरीले भने, “प्रधानमन्त्रीको उपस्थितिमा कार्यदलका सदस्य पनि छलफलमा बस्यौँ । नेपाली कांग्रेसका नेताहरू पनि त्यहाँ रहनुभएको थियो । घनिभूत ढङ्गले यो समस्याको समाधान गर्नका निम्ति हामी प्रयासरत रह्यौँ । हामी करिब करिब सहमतिमै पुग्यौँ ।”
उनले सहकारीको रकम कसैले अपचलन गरेको भए जिम्मेवारीमा रहेका जोकसैमाथि पनि छानबिन हुने बताए । उनले भने, “पद उल्लेख गर्नै परेन, जोकोही जिम्मेवार छ भने छानबिनको दायरामा पर्छ । छानबिनपछि दोषी देखिए कारबाहीको दायरामा आउनु पर्छ, कारबाहीको भागीदार बन्नु पर्छ । यही हिसाबले हामीले निष्कर्ष निकालेका छौँ ।”