पुन: सञ्चालनमा आयो किमाथांकासहित १४ ओटै नाका



किमाथांका (सङ्खुवासभा),जेठ १३ । सङ्खुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ ओटै नाका शनिबारदेखि पुन: सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा शनिबार आयोजित एक समारोहबीच किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुन: सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे । 

नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका शनिबारदेखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुने छन् । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथांकासहित १४ ओटा व्यापारिक नाका खुलाउन सफल भएको उनले बताए । 

गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमश: खुलाउने समझदारी भएअनुसार नै नाका पुन: सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । 

उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेको थियो ।

 किमाथांका नाका खुलेपछि भोटखोलावासी उत्साहित भएका छन् । विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएपछि उनीहरूलाई समस्या भएको थियो । किमाथांकामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो । 

सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ । किमाथांका नाका सदरमुकामदेखि एक सय ६२ किलोमिटर टाढा पर्छ । रासस

प्रतिक्रिया दिनुहोस्