मधेशमा धानको अवैध जातको बीउ विक्रीवितरण, सूचीकृत जात मात्र प्रयोग गर्न आग्रह



जनकपुरधाम,जेठ ११ । मधेश प्रदेशमा धानको प्रतिबन्धित बीउ विक्रीवितरण भइरहेको पाइएको छ । मधेश प्रदेश सरकार मातहत महोत्तरीको जलेश्वरस्थित प्रादेशिक बीउबिजन प्रयोगशालाले गरेको अनुगमनमा सरकारले सूचीकूत नै नगरेको सोना मनसुली बिबि ११, स्वर्ण एमटी शून्य ७०२९, कोमल जिरा, कान्छी मनसुरी, सोना एमटियू लगायत जातका धानको बीउ महोत्तरी, धनुषा, सिरहा लगायत जिल्लामा विक्री भइरहेको पाइएको हो ।

अवैध जातको बीउ विक्रीवितरण भएको पाइएपछि मधेश प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सूचीकृत जातको बीउ मात्र प्रयोग गर्न किसानलाई आग्रह गरेको छ । मन्त्रालयका अनुसार किसानलाई झुक्याएर धानको प्रतिबन्धित बीउको कारोबार भइरहेको पाइएको छ । मधेशका किसानलाई कृषि बीउबिजन विक्री केन्द्र (एग्रोभेट)हरूले रोगकीरा धेरै लाग्ने, उर्वरा शक्ति घटाउने, कम उत्पादन दिने जस्ता समस्या भएको धानको बीउ विक्री गरेको भेटिएको बताइएको छ ।

विभिन्न समस्या देखाउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले उक्त जातको धान उत्पादन, बीउ आयात तथा प्रयोगमा बन्देज लगाउने निर्णय गरेको थियो । तर किसानले केही वर्षदेखि प्रतिबन्धित धानको बीउ प्रयोग गरेको भेटिएपछि मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीले चासो दिएका छन् ।

मधेश प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेयले नार्कद्वारा सिफारिश नै नगरिएको र आयातमा प्रतिबन्ध लगाइएको बीउ मधेशमा कसरी भित्रियो भन्ने विषयमा सूक्ष्म अध्ययन गरिने बताए । ‘बीउबिजन विक्री पसलले किसानलाई प्रतिबन्धित धानको बीउ विक्री गरेको भेटिए त्यस्ता पसलको अनुमति तत्काल खारेज गरी कारबाही गरिनेछ,’ उनले भने, ‘सूचीकूत नभएका बीउ प्रयोग नगर्न किसानलाई सचेत गराउनेछौं ।’

सचिव पाण्डेयले केही एग्रोभेटमा गरिएको अनुगमनमा धानको प्रतिबन्धित बीउ फेला परेपछि प्रदेशका आठओटै जिल्लामा अनुगमन तीव्र पार्ने निर्णय भएको बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बीउबिजन शाखा प्रमुख प्रकाश आचार्यले सूचीकूत नै नभएको बीउवितरण गर्नु दण्डनीय भएको बताए । उनले भने, ‘यो अवैध काम हो, यसबारे जिल्लास्थित कृषि ज्ञान केन्द्रले अनुगमन गरी कारबाही अघि बढाउन सक्छ ।’ 

नार्कको सिफारिशमा हालसम्म नेपालमा १ सय ४० जातका धान मात्र सूचीकृत छन् । तीमध्ये तराई मधेशमा यस क्षेत्रको हावापानी, माटो लगायतलाई ध्यानमा राखेर नार्कले बासमती, हर्दिनाथ १, ५, ६, हर्दिनाथ चैत ५ सहितको धान लगाउन सिफारिश गरेको छ ।

मन्त्रालयका सचिव पाण्डेयका अनुसार प्रतिबन्धित धानको बीउबाट लगाइएको बालीमा अत्यधिक रोगकीरा लाग्ने समस्या हुन्छ । यस्तो धानमा नयाँ रोग समेत देखिने गरेको छ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशनकुमार मेहताले प्रदेशमा वार्षिक १३ हजार टन धानको बीउ खपत हुने गरेको बताए । यसमध्ये १० हजार टन बीउ किसानले पुरानो बालीबाट तयार पार्ने गरेका छन् । बाँकी बीउका लागि किसानहरू एग्रोभेटमा निर्भर छन् । प्रदेशमा माटो परीक्षण, हरियो मल प्रयोग तथा प्रदर्शन र कृषिमा यान्त्रिकीकरणको रणनीति अवलम्बन, कस्टम हायरिङ सेन्टर स्थापना लगायत व्यवस्था गरेर कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिइएको मन्त्रालयका कृषि महाशाखा प्रमुख डा. सरोज चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्