यस वर्ष पनि वर्षायाममा मेलम्चीको पानी नआउने
काठमाडौं,जेठ १० । यस वर्ष पनि वर्षायाममा मेलम्ची पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको वर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार ठुलो पानी पर्ने बित्तिकै आउने लेदोका कारण सुरुङ्मार्गमा असर पर्ने भएकाले वर्षायाममा पानी पथान्तर बन्द गरिने छ ।
उनले भने, “सुरुङ्मार्गमा बाढी रोक्ने पूर्वाधार बनिसकेको छैन । लेदोसहितको बाढी आउनेबित्तिकै सुरुङ्मा असर गर्ने भएकाले पानी पथान्तर रोक्ने योजना बनाएका छौँ ।”
वर्षाको समय दुई महिना अवधिभर पानी उपत्यका नआउने उनको भनाइ छ । गतवर्ष बाढीले गरेको हेडवक्रस अहिलेसम्म नबनेकाले वर्षयाममा पानी उपत्यका पठाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
सामान्यतया नेपालमा जुन ८ (जेठ २८) देखि मनसुन सुरु हुन्छ । यसपालि भने मौसम विज्ञान विभागले मनसुन सुरुहुने मिति किटान गरेको छैन । ठुलो पानी पर्ने बित्तिकै पानी पथान्तर रोक्न टोली तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताए ।
अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौँमा पानी पथान्तर कार्य रोकिएको थियो । गत वर्ष माघ १ गतेबाट मात्र उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आइरहेको छ ।
मेलम्चीको मुहानमा हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गते आएको बाढीले सुरुङको मुखमा क्षति गरेको थियो ।
सहायक सुरूङभित्र उपकरण पसाएर सफा गर्न कठिन भएकाले यसपटक सुरुङ सुरक्षाका लागि मनसुन सुरु हुनेबित्तिकै पानी पथान्तर रोकिने कार्यकारी निर्देशक लामिछानेले बताए ।