प्रधानमन्त्रीसहित २३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : उपप्रम श्रेष्ठसँग सवालाख रुपैयाँ मात्र



काठमाडौं,जेठ ९ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालसहित २३ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा कम सम्पत्ति उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग सवालाख रुपैयाँमात्र छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भरतपुर महानगरपालिका, वडा नम्बर १४ मा १४ कट्ठामा बनेको पार्किङसहितको घरघडेरी छ । यो जग्गा उहाँकी धर्मपत्नी स्वर्गीय सीता दाहालको नाममा छ । उक्त जग्गाजमीन पैतृक सम्पत्ति रहेको खुलाइएको छ । दाहालसँग भरतपुर महानगरपालिका, वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ । प्रधानमन्त्रीसँग ५ तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक भएको उल्लेख गरिएको छ । 

प्रधानमन्त्रीसँग एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख रुपैयाँ नगद मौज्दात छ । उनले यो रुपैयाँ प्रतिनिधिसभा सदस्यको तलबभत्ताबापत आर्जन गरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले आफूसँग कुनै ऋण, सवारीसाधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरेका छन्  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ नगरपालिका, वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा ३ करोड ७५ लाख रुपैयाँमा खरीद गरिएको उल्लेख छ । पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ । 

रवि लामिछानेको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ । यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ । काठमाडौं महानगरपालिका, वडा नम्बर ७ मा पत्नी निकिताको नाममा १० रोपनी सगोलको जग्गा पनि छ । 

गृहमन्त्री लामिछानेसँग करीब ८० तोला सुन छ । यो अधिकांश बुबाआमाबाट पाएको र केही खरीद गरिएको बताइएको छ । चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

लामिछानेका नाममा दुईओटा बैंकमा गरी १ लाख १० हजार रुपैयाँ छ । निकिताको बैंक खातामा ५ लाख ५८ हजारभन्दा बढी रकम छ । निकिताको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको ८ करोड ७५ लाख बराबरको २५ प्रतिशत शेयर छ । ४ वर्षपहिले घर किन्न १ करोड ५० लाख रुपैयाँ बैंकबाट कर्जा लिएको उल्लेख छ । निकिताको नाममा ४२ लाख रुपैयाँमा २०७० सालमा कार किनेको लामिछानेले उल्लेख गरेका छन् । निकिताकै नाममा ३ करोड रुपैयाँको नारी टिभी, १ करोडको गोपीकृष्ण कामाक्ष मिडिया कम्पनी छ ।

अर्का उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुईओटा घर छन् । जनकपुरमा पत्नी जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घरघडेरी छ । त्यस्तै ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ । धनुषाको घरघडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा किनेको जनाइएको छ ।

पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा ७ बिगाहा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगरपालिकामा ३ कट्ठा ११ धुर जग्गा रहेको खुलाइएको छ । यी सबै जग्गा २०६५, २०५८, २०५६ र २०५४ सालमा किनेको उल्लेख गरिएको छ ।

त्यस्तै रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिगाहा १५ कट्ठा जमीन छ । यो जग्गाजमीन खरीद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको बताइएको छ ।

महासेठसँग नगद २ करोड २५ लाख रुपैयाँ छ । यो रुपैयाँ काठमाडौं, ललितपुरको साविक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३०२, ३०३, ३०४ लगायत जग्गाको विक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ । उनीसँग ४३ तोला सुन र डेढ किलो चाँदी छ । ७ थान औंठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ । यी जवाहारात पैतृक सम्पत्ति, खरीद र उपहारबाट प्राप्त भएको खुलाइएको छ ।

पत्नी जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाख, महिला लघुवित्त संस्थामा १ करोड र कर्पाेरेट डेभलपमेन्ट बैंक वीरगञ्जमा २ करोड ५० लाख रुपैयाँको शेयर छ । यी सम्पत्ति ऋण, सापटी, पैतृक र कृषिबाट प्राप्त भएको उल्लेख छ । महासेठले आफूसँग कुनै सवारीसाधन नरहेको उल्लेख गरेका छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार सबैभन्दा कम सम्पत्ति उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको छ । 

मन्त्री श्रेष्ठको गोरखा सिरानचोक–८ मा करीब ३८ रोपनी पैतृक सम्पत्ति छ । तर, त्यो २०५८ सालमा पार्टीलाई हस्तान्तरणको घोषणा गरेको र नामसारीको प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् । सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार रुपैयाँ मौज्दात छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चढ्न दिनुभएको महिन्द्रा गाडी आफूसँग रहेको श्रेष्ठले उल्लेख गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष हुन् ।

यसैगरी अर्थमन्त्री वर्षमान पुनको सार्वजनिक भएको सम्पत्ति विवरणमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ नगद एनएमबि बैंकको खातामा रहेको उल्लेख छ । उक्त रकम प्राप्तिको स्रोत तलबभत्ता रहेको उल्लेख गरिएको छ । मन्त्री पुनको रोल्पा नगरपालिका–७ मा ८२० वर्गमीटरमा फैलिएको घर रहेको र उक्त घर पैतृक रूपमा प्राप्त गरेको विवरणमा उल्लेख छ । मन्त्री पुनसँग सवारीसाधन रहेको र त्यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ । उनको सम्पत्ति विवरणमा ऋण लिएको उल्लेख छ तर कति लिएको भन्ने खुलाइएको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफूसँग सहकारीमा १ करोड ५० लाख नगद जम्मा रहेको सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् । मंगलवार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उनले जनसागर सहकारीमा १ करोड ५० लाख नगद जम्मा भएको उल्लेख गरेका छन् । उनले व्यापारबाट उक्त रकम आर्जेको विवरणमा उल्लेख छ । यस्तै प्राइम बैंकमा १३ लाख, राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख र मेगा बैंकमा १ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरण अर्यालले बुझाएका छन् ।

अर्यालले श्रीमती अम्बिका केसीको नाममा ग्लोबल आइएमई बैंकमा ५० लाख र हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरण पेश गरेका छन् । उनले धादिङका विभिन्न स्थानमा ८ आना, भक्तपुरमा ८ आना र लमजुङमा १० रोपनी २८ आना जग्गा रहेको उल्लेख गरेका छन् ।

यसैगरी भक्तपुरमा ८ आना जग्गा उनकै नाममा छ । श्रीमती अम्बिकाको नाममा काठमाडौंका विभिन्न स्थानमा २२ आना जग्गा रहेको उल्लेख छ । १ करोड २५ लाखको प्राडो कार, श्रीमतीसँग ४३ लाखको टाटा नेक्सन ईभी रहेको पनि उनले बताएका छन् ।

शहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंमा दुईओटा घर रहेको विवरण सार्वजनिक भएको छ । मन्त्री बुढाको काठमाडौं ६ मा दुईओटा घर छ । उनले श्रीमती हिमालीको नाममा १७ र २० आना जग्गाका साथै १५० तोला सुन र ३०० तोला चाँदी रहेको उल्लेख गरेका छन् ।

बुढाले बैंकमा आफ्नो नाममा १५ लाख रुपैयाँ र श्रीमतीको नाममा ४५ लाख नगद रहेको उल्लेख गरेका छन् । नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेका बुढाले डोल्पामा पनि आफ्नो पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । मन्त्री बुढा निर्माण व्यवसायी पनि हुन् । 

प्रतिक्रिया दिनुहोस्