१३ खर्बको आयात हुँदा सवा १ खर्बको मात्रै निर्यात, गत वर्षभन्दा आयात/निर्यात घट्यो
काठमाडौं,जेठ ८ । चालू आर्थिक वर्षको १० महीनामा नेपालको कुल आयात २ दशमलव ३९ प्रतिशतले घटेको छ भने निर्यात त्योभन्दा बढी ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनदेखि वैशाखसम्ममा नेपालले रु १३ खर्ब ३ अर्ब ३५ करोडभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ । सो अवधिमा नेपालले रु १ खर्ब २६ अर्ब १७ करोडभन्दा बढीको निर्यात गरेको छ ।
१० महीनाको अवधिमा नेपालले ११ खर्ब ७७ अर्ब १८ करोडभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।
यो अवधिमा नेपालले सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको गरेको छ । उक्त अवधिमा २ खर्ब ७६ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।