‘सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो’



गण्डकी,जेठ ५ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताएका छन् । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रबार आयोजित ‘साकोस जोखिम विश्लेषण कार्यशालको शुभारम्भ समारोहमा उनले सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा सहकारी क्षेत्रमा समस्या सिर्जना भएको बताएका हुन् । 

नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने जनाउँदै मुख्यमन्त्री अधिकारीले सहकारी अभियान समाप्त भए आर्थिक संकट पर्नसक्ने बताए ।

उनले भने, ‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबैले ध्यान  पुर्याउनुपर्छ । शेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्छ । रोजगारी सिर्जना गर्ने खालका काम संस्थाले गरेको छ÷छैन भन्नेमा शेयर सदस्यको चासो हुनुपर्छ ।’ 

सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालमा ३२ संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । विसं २०४५ मा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ । यसका चार हजार छ सय ५० जना प्रत्यक्ष सदस्य छन् । रासस 

प्रतिक्रिया दिनुहोस्