‘देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत् नै हो’
काठमाडौं,जेठ ४ । सर्वप्रथम स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभामा उपस्थित भई आफ्ना विचारहरू राख्ने अवसर दिनुभएकोमा आयोजकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु ।
‘अवरोधहरू तोडौँ, स्वदेशी लगानीको प्रर्वद्धन गरौं’ भन्ने नारासहित मनाउन लागिएको यस साधारणसभाले ऊर्जा क्षेत्रमा लगानी आकर्षण, प्रवर्धन र बिस्तारका निम्ति प्रेरकको भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
नेपालको निजी क्षेत्रले जलविद्युत् उत्पादनमा व्यापारिक र व्यवसायिक रूपमा काम गर्न थालेको साढे दुई दशक पूरा भएको छ । यसबीचमा नै संगठित रूपमा इप्पान स्थापना भएर आज २२ औँ वार्षिकोत्सव मनाउन लागेकोमा खुशी लागेको छ ।
नेपालमा ऊर्जा उत्पादन सुरू भएको ११३ वर्ष पुगेको छ । १९६८ साल जेठ ९ गते पहिलोपटक फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भएको थियो । यस अवधिमा ३२ सय मेगावाट ऊर्जा उत्पादन भएको छ, यसमध्ये निजी क्षेत्रबाट २४ सय मेगावाट ऊर्जा उत्पादन भएको छ । देशको विकास र समृद्धिको यात्रामा यो निकै ठूलो उपलब्धी हो । यसका निम्ति तपाईहरू धन्यवादका पात्र हुनुहुन्छ ।
कुनै बेला दैनिक १६ घण्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा अहिले वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ, यसमा पनि निजी क्षेत्रको भूमिका प्रशंसनीय छ । अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन्, यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको भूमिका र महत्वलाई दर्शाएको छ ।
हामीले छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ । त्यसैगरि भारतको ग्रीडलाइन हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने सम्झौतामा समेत हस्ताक्षर भएको छ । मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ । यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो, ऐतिहासिक उपलब्धी पनि हो । यसकै कारण तपाईहरूबाट आज अभिनन्दित हुने अवसर पनि पाएको छु ।
यो बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुंगा सावित हुनेछ भन्नेमा म विश्वस्त छु । यसले ऊर्जा विकासका लागि ढोका खुलेको छ । छिमेकी मुलुक भारत मात्र होइन, अर्को छिमेकी मुलुक बंगलादेशले समेत नेपालको बिजुली आयात गर्ने गरी प्रक्रिया बढाइसकेको छ । नेपाल विद्युत् आयात गर्ने मुलुकबाट विद्युत् निर्यात गर्ने मुलुकमा रूपान्तरित भएको छ । यो इतिहासकै महत्वपूर्ण फड्को हो ।
छिमेकी मुलुकहरूमा बिजुली निर्यातका लागि मात्र होइन, स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेका छौँ । पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युत्को खपत बढाउँदै जाने सरकारको योजना छ । तसर्थ, देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत् नै हो भन्ने वैचारिक स्पष्टताका साथ सरकारले काम गरिरहेको छ ।
आन्तरिक खपत तथा निर्यातका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ऊर्जा उत्पादन नै हो । यसका लागि तपाईहरूको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । यसका लागि लगानी र निर्माण गर्ने वातावरण महत्वपूर्ण हुन्छ । भर्खरै हामीले तेस्रो लगानी सम्मेलन सम्पन्न गरेका छौँ, यसले पनि लगानी भित्राउनका लागि स्वदेशी, विदेशी लगानीकर्तामाझ सकारात्मक सन्देश गएको छ । लगानी प्रवर्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत् संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थितिको अन्त्य भएको छ । यस क्रममा निजी क्षेत्रले उठाउँदै आएका कतिपय मागहरू सम्बोधन भएका छन् । बाँकी मागहरूलाई समेत क्रमशः सम्बोधन गरिँदै जाने कुरा म तपाईलाई स्पष्ट पार्न चाहन्छु ।
तपाईहरूले वर्षामा बिजुली खेर जाने समस्याबारे कुरा उठाउनुभएको छ । विष्फोटक पदार्थको समस्या पनि राख्नुभएको छ । बाढी पहिरो प्रभावितलाई सहुलियतमा भएको ढिलाइबारे पनि कुरा गर्नुभएको छ । विभिन्न कारणले आयोजनाको व्यापारिक उत्पादन मिति पछाडि सरेको र यसको म्याद थपबारे पनि कुरा राख्नुभएको छ । निजी क्षेत्रलाई बिजुली व्यापारमा संलग्न गराउने कुरा पनि कुरा उठाउनु भएको छ । यी अधिकांश कुरा मेरो स्मरण र नोटिसमा छन् । मैले यसलाई गम्भीर रूपमा लिएको छु । सम्बन्धित निकायहरूसँग आवश्यक परामर्श गरी के–कति सम्बोधन गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यसका लागि पहल गरिने विश्वास पनि दिलाउन चाहन्छु ।
सरकार निजी क्षेत्रको प्रवद्र्धनकै पक्षमा छ, यसका लागि विभिन्न काम गर्दै आएको छ । नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्ने काममा सरकार लागेको छ, यसमा थप दृढताका साथ लाग्नेछ । भर्खरै मात्र प्रस्तुत भएको नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गरिएको छ । अब हाम्रो ध्यान नीति तथा कार्यक्रमअनुरूपको बजेट निर्माणमा छ । यसपटकको बजेटले नीति तथा कार्यक्रमको लक्ष्य र प्राथमिकतालाई केन्द्र राख्ने कुरा पनि म जानकारी गराउन चाहन्छु ।
नेपाल सरकारको तर्फबाट म प्रष्ट पार्न चाहन्छु– तपाईहरू ढुक्क भएर ऊर्जा आयोजनामा लगानी गर्नुस्, तपाईहरूका लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव सहयोग गर्नेछ । (स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधन)