भृकुटीमण्डपमा चेम्बर एक्स्पो २०२४ शुरु



काठमाडौं,फागुन २५ । काठमाडौंको भृकुटीमण्डपमा सातौं चरणको ‘चेम्बर एक्स्पो २०२४’ बिहीवारदेखि शुरु भएको छ। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा एक्स्पो शुरु भएको हो । एक्स्पोको उद्घाटन श्रममन्त्री डोलप्रसाद अर्यालले गरे । 

एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकलाका सामान, अटोमोबाइल, इलेट्रोनिक्सलगायतको प्रदर्शनीसँगै कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तु, घर–जग्गा व्यवसाय, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीसमेत प्रर्दशनीमा राखिने आयोजकले जनाएको छ । 

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १६० भन्दा बढी स्टल रहको आयोजक चेम्बरले उल्लेख गरेको छ । एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ ।

प्रदर्शनीमा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिभिसन कन्फरेन्स सञ्चालनमा छ। प्रदर्शनीमा नेपालमा रहेका बंगलादेश, रुस र मलेसियाको वाणिज्य शाखाको पनि सहभागिता छ । यस्तै बंगलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानका व्यवसायीले पनि प्रदर्शनीमा सहभागिता जनाएका छन् । 

स्थानीय उत्पादन प्रवर्द्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने एक्स्पोको उद्देश्य रहेको आयोजकले जनाएको छ । एक्स्पो २८ फागुनसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्