सुन तोलाको १ लाख २३ हजार रुपैयाँ पुग्यो
काठमाडौँ,फागुन २२ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम हुँदै मूल्यमा हालसम्मकै उच्च रेकर्ड बनेको हो ।
यसअघि गत पुस १२ गते सुनको मूल्य प्रतितोला १ लाख २२ हजार पुगेको थियो । यसयता केही घट्दो क्रममा रहेको सुनको मूल्य आइतबारदेखि पुनः उकालो लाग्न पुगेको हो ।
आइतबार एकै दिन प्रतितोला २ हजार रुपैयाँले बढ्दै छापावाला सुनको मूल्य १ लाख २१ हजार रुपैयाँ पुगेको थियो । दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर भएकामा तेस्रो दिन थप २ हजार रुपैयाँले बढ्दै १ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।