अम्रिसोको मूल्य घट्यो, किसान चिन्तित



फिक्कल (इलाम),फागुन २२ । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसान मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । 

अम्रिसोको मूल्य गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको छ । गत वर्ष प्रतिकेजी रु एक सय २० देखि रु एक सय ३० सम्ममा विक्री भइरहेकोमा अम्रिसोको फूल (कुचो) अहिले प्रतिकेजी रु ६५ मा मात्र विक्री भइरहेको छ । 

इलाम माई नगरपालिका–९ का पूर्णकुमारी साउदेनले व्यापारी किसानका घरमै पुगेर कुचो खरीद गरिरहे पनि मूल्य पनि अत्यधिक घटेको बताए । ‘गत वर्ष शुरुमा नै प्रतिकेजी रु एक सय १० का दरले कुचो बेचेको थिएँ, त्यसपछि रु एक सय ३० सम्म समेत पुगेको थियो,’ उनले भने, ‘यसवर्ष प्रतिकेजी रु ६५ का दरले बेच्न बाध्य भएका छौं ।’ 

विगतमा राम्रो मूल्य पाएपछि हौसिएर अन्य बाली हटाएर अम्रिसो खेती गरेका किसान अहिले निराश भएको किसान अभिषेक येक्तेनले बताए । ‘अहिले अम्रिसोको व्यावसायिक खेती गरेर जीवनयापन गर्ने अवस्था समेत छैन,’ उनले भने, ‘मैले यसवर्ष एक हजार केजी कुचो उत्पादन गरेको छु । त्यसको गोडमेल तथा कुचो तान्नका लागि प्रयोग गरिएको खेतालालाई दिने पैसासमेत नपुग्ने अवस्था छ ।’

यसरी मूल्य नै घट्दै जाने हो भने अम्रिसोको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको किसान पवन राई बताउँछन् । ‘दुई/तीन वर्षअघिसम्म कुचोको मूल्य राम्रो थियो,’ उनले भने, ‘हामीले प्रतिकेजी एक सय ३० सम्ममा बेचेका थियौं । त्यो बेला मूल्य राम्रो पाएपछि खेतमा अम्रिसो लगाइयो ।’

अन्य बालीको तुलनामा कम खर्चिलो र कम मेहनतमै राम्रो आम्दानी पाउने भएपछि धान, मकै, कोदो लगाउने खेत र बारीमा समेत अम्रिसो खेती गरिएको थियो । बिरुवाका लागि भइरहेको बोटबाटै अर्को बिरुवा निकाल्न सकिने, गोडमेलको झन्झट नहुने भएका कारण पनि किसान अम्रिसो खेतीतर्फ आकर्षित भएका हुन् । 

दोमट माटो भिरालो जग्गामा अम्रिसो खेती फस्टाउने भएकाले किसानले प्रशस्त मात्रामा कुचो उत्पादन गर्ने गरेका छन् । अहिले एक जना किसानले चार हजार केजीसम्म कुचो विक्री गर्ने गरेका छन् ।

इलामका व्यापारी एवम् इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले यस वर्षको शुरुमा प्रतिकेजी रु ७५ देखि ८० सम्ममा कुचो विक्री भए पनि पछि मूल्य घटेको बताए ।  

इलामको सबै पालिकाका विभिन्न ठाउँमा मुख्यरूपमा अम्रिसो खेती हुने गरेको छ । कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन भएपछि काकटभिट्टा हुँदै भारत निकासी हुने गरेको छ । जिल्लामा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कुचो उत्पादन हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्