सर्वोत्तम सिमेन्टको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा ३ गुणा बढी आवेदन
काठमाडौं,फागुन १४ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार पहिलो दिन फागुन १३ गते साँझ ५ बजेसम्म १ लाख ५६ हजार २०७ जना आवेदकबाट ८६ लाख ६० हजार ६४० कित्ता आईपीओ माग भएको छ, जुन मागभन्दा ३ दशमलव १२ गुणा बढी हो । रकमका हिसाबमा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको हो ।
कम्पनीले यसअघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । त्यस्तै सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको छ ।
उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयरसमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको छ । तेस्रो चरणमा विक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरिएको छ ।
बुक बिल्डिङ विधिमार्फत विक्रीमा आएको यस कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता माग गर्नुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ खरीदका लागि अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ । पहिलो दिनभित्रै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ विक्री फागुन १६ गतेसम्म मात्र खुला हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ भने सहनिष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।