विदेशबाट फर्किएर भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी
दाङ,माघ ९ । परम्परागत पेसाका रूपमा चार/पाँच वटा भैँसी पालेर गुजारा नचलेपछि दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादव आठ वर्षपहिले राम्रो कमाइको आसमा साउदी पुगे तर सोचेजस्तो आम्दानी हुन नसकेपछि त्यही परम्परागत पेसालाई व्यावसायिक रूप दिएर सन्तुष्ट हुने गरी कमाएका छन् ।
साउदीमा एक वर्ष इलेक्ट्रोनिक कम्पनीमा काम गरेका यादवले महिनामा ६०/७० हजारभन्दा बढी कमाइ गर्न सकेनन र लगत्तै देश फर्किए । अहिले सानाठुला गरेर ७२ वटा भैँसी पालेका उनले दुध र दही बिक्री गरेर २३ सदस्य परिवारका लागि खर्च जुटाउने मात्र होइन, बचत गरेर जग्गासमेत किनिसकेको बताउछन् । यादव भन्छन, “७२ भैँसीमध्ये १७ वटा भैँसीले दुध दिन्छन् । दैनिक करिब ६० देखि ७० लिटरसम्म दुध बिक्री गर्छु ।” घरमा भैँसीसम्बन्धी सबै काम आफूले गर्ने र भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्याएर दुध बिक्री गर्छन् । “विदेशमा अर्काको अधीनमा बसेर काम गर्दाभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट छु,” उनले भने ।
दुध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधीमा लाग्ने गरे पनि बाँकी रकम भने नाफा हुने गरेको उनी बताउछन् ।
भैँसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भने, “अहिलेसम्म जे जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।” आफ्नै मेहनतले पुख्र्यौली पेसालाई व्यवस्थित गर्दै लैजाने सोचमा रहेको उनी बताउछन् । त्यसका लागि घरपरिवारले पनि साथ दिएको यादव बताउछन् । गोरखापत्रबाट