अलैँचीको भाउ उच्च, प्रतिमन ७७ हजारमा कारोबार



ताप्लेजुङ,माघ ४ । ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो । 

मङ्गलबार कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च भएको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताए । फुङ्लिङ बजारका स्थानीय व्यवसायीसमेत रहेका रेग्मीले चलनचल्तीको अलैँची प्रतिमन ७७ हजार रुपियाँसम्ममा कारोबार भएको जानकारी दिए ।

उनका अनुसार केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर वृद्धि हुँदै आएको थियो । स्थानीय बजारमा प्रतिमन ७७ हजार रुपियाँले कारोबार भएको अलैँची झापाको बिर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको उनको भनाइ छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् ।

अहिलेको अलैँचीको मूल्य यस वर्षको मात्र नभई चार/पाँच वर्षयताकै राम्रो हो । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्