बम्जनको घरबाट झन्डै साढे ३ करोड रुपैयाँ बरामद
काठमाडौँ,पुस २५ । हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले झन्डै साढे ३ करोड रुपैयाँ बरामद गरेको छ ।
बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको हो । रकमसहित उनको घरबाट बरामद भएको पैसा, मोबाइल, ल्यापटप लगायत पनि प्रहरीले सार्वजनिक गरेको छ । यस्तै महँगा गाडीहरू पनि बरामद भएका छन् ।
बम्जनविरुद्ध आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्ला अदालत सर्लाहीले २०७६ साल माघ २३ गते पक्राउ पुर्जी जारी गरेयता प्रहरीले बम्जनको खोजी गरिरहेको थियो । तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।