आगमन घट्दा पनि सस्तियो काउली, सातामा ४० प्रतिशतसम्मले घट्यो भाउ
काठमाडौं,पुस २३ । पछिल्लो एक सातामा काउलीको मूल्य ४० प्रतिशतसम्म घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्तामा स्थानीय काउलीको मूल्य ४०.१० प्रतिशतले र स्थानीय ज्यापु काउली ३४.४४ प्रतिशतले घटेको छ ।
समितिका अनुसार गत हप्ता प्रतिकिलो २९ रुपैयाँ रहेको स्थानीय काउलीको मूल्य आइतवार किलोको १७ रुपैयाँ कायम भएको छ । यस्तै स्थानीय ज्यापु काउली पनि घटेर किलोको २९ रुपैयाँ तोकिएको छ । गत साता यो काउली प्रतिकिलो ४५ रुपैयाँ थियो ।
यो अवधिमा काउलीको आगमन भने ३६ प्रतिशतले घटेको छ । अघिल्लो आइतवार कालीमाटी बजारमा ६३ हजार ७२० किलोग्राम काउली भित्रिएको थियो भने आइतबार ४० हजार २८७ किलोग्राम काउली भित्रिएको छ ।
अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार आगमन घट्दा भाउ बढ्ने गर्छ ।