सीएनआईको सर्वेक्षण भन्छ- अर्थतन्त्रमा सुधार आएको छैन
काठमाडौं,पुस १७ । सरकार र नियामक निकायले पछिल्ला केही महीनायता अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा एक सर्वेक्षणले भने अर्थतन्त्रमा सुधार नआएको देखाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग व्यवसाय स्तरमा गरेको सर्वेक्षणले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको देखाएको हो ।
`समग्र बजार माग खस्किएको छ। कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ,´ सीएनआईले सर्वेक्षणबारे सोमवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सर्वेक्षणअनुसार उद्योग क्षेत्रको उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास भएको थियो । यो चालू आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा सोही अवधिमा उद्योगहरुको समग्र मागमा कुल ३६.९३ ले संकुचन आएको छ । यसैगरी उद्योगहरुको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालू आर्थिक वर्षको समान अवधिमा थप ७.४६ ले घटेको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ को तुलनामा यो कुल ३०.५४ ले खुम्चिएको छ ।