सिजनमै सुस्ताएको सुन व्यापार: लगनमै आधाले घट्यो खपत, किन देखिएन मूल्य घट्ने सङ्केत ?
काठमाडौं,पुस ३ । मुख्य सिजन मानिने मङ्सिर महिनामै सुनको कारोबारको उत्साहजनक हुन सकेन । विवाहको लगनको महिना मङ्सिरमा सुनको कारोबार करिब ४० प्रतिशतले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो वर्षको मङ्सिरमा साढे ५०० केजी सुन मात्रै कारोबार भएको हो । यद्यपि, गत वर्षहरूको तुलनामा सुन खपत आधाले घटेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताए ।
अघिल्ला केही वर्षहरूमा जस्तो यसपालि सुनको बजार माग नभएको उनको भनाई छ । उनले भने,–‘यो वर्षको मङ्सिरमा करिब साढे ५०० केजी सुन खपत भएको छ । अघिल्ला वर्षहरूमा जस्तो माग देखिएन, ४० प्रतिशतले घटेको देखिन्छ ।’
यो वर्ष सुन व्यापारमा उत्साह फर्किएको छैन । आर्थिक मन्दी, मूल्यवृद्धि लगायतका कारण पनि सुन व्यापार सुस्ताएको हो । महासङ्घ अध्यक्ष शाक्यका अनुसार अघिल्लो वर्षहरूको मङ्सिरमा हजार केजी हाराहारीमा सुन खपत हुने गरेका थियो ।
अहिले बजार माग नै कम भएको उनले बताए । अहिले दैनिक २०/२५ केजी मात्रै खपत हुने गरेको शाक्यको भनाई छ । विवाहको लगन तथा विभिन्न चाडपर्वमा नेपाली बजारमा सुनको बढी माग हुने गरेको छ । तर, यो वर्षको तीज दसैँ, तिहार जस्ता चाडपर्व र मुख्य सिजन मानिने विवाहको लगनको महिना मङ्सिरमा पनि सुन खपत बढ्न नसकेको हो । नेपाली बजारमा सुनको खपत बढ्ने सिजनमै घटी रहेको छ । सुनको भाउ पनि विवाहकै सिजनमा आकासिएको थियो । सुनको मूल्य बढ्दा पनि कारोबार प्रभावित भएको महासङ्घले जनाएको छ ।
सिजनमै सुनको मूल्यले बनायो कीर्तिमानी रेकर्ड, मङ्सिरमै ६ हजारले बढ्यो भाउ
मङ्सिरमा सुनको भाउले नयाँ कीर्तिमानी उचाइ बनाएर रेकर्ड राखेको छ । मङ्सिरमा सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँसम्म पुगेको थियो । दैनिक रूपमा मूल्य आकासिएपछि कारोबार समेत प्रभावित बनेको हो ।
समग्रमा मङ्सिर महिनामा सुन ५ हजार ९०० रुपैयाँले महँगिएको छ । गत कात्तिक अन्तिममा १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मङ्सिर मसान्तसम्म आइपुग्दा १ लाख १९ हजार १०० रुपैयाँ कायम भएको थियो । यसरी सुन दैनिक रूपमा वृद्धि हुँदा बजारमा माग सुस्ताएको महासङ्घ अध्यक्ष शाक्यले बताए ।
‘मङ्सिरमा सुनको मूल्य बढेर नयाँ कीर्तिमानी उचाइ बनायो, कारोबार बढ्नका लागि सुनको भाउ घट्नुपर्छ, मूल्य ओरालो लागेपछि नै व्यापार बढ्ने हो’ शाक्यले भने । लामो समयदेखि जारी आर्थिक समस्याहरूका कारण र दैनिक मूल्यवृद्धिले पनि व्यवसायमा उत्साह नदेखिएको हो ।
माघ फागुनमा कारोबार बढ्ने व्यवसायीहरूको आशा
मङ्सिरमा सुस्ताएको सुन व्यापार आगामी माघ–फागुनमा भने बढ्ने व्यवसायीहरूले आशा गरेका छन् । माघ–फागुनमा फेरि विवाहको सिजन हुने भएकाले पनि कारोबार बढ्ने उनीहरूको आकलन छ ।
सुन कारोबारका लागि पुस महिना अपसिजन नै मानिन्छ । पुस विवाह लगायतका अन्य कुनै गतिविधि नहुँदा पनि खपत घट्ने व्यवसायीहरू बताउँछन् । उनीहरू भन्छन्,‘पुसमा सुन खपत घट्छ । विवाह लगायतका अन्य कुनै गतिविधि हुँदैन । तर, माघ–फागुनमा भने कारोबार बढ्न थाल्छ ।’
छैन मूल्य घट्ने सङ्केत
अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगिएकाले नेपाली बजार पनि प्रभावित भएको अध्यक्ष शाक्यले बताए । तत्काल सुनको भाउ घट्ने सङ्केत नभएको उनको भनाई छ ।
रुस–युक्रेन र इजरायल–प्यालेस्टाईन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा अन्तर्राष्ट्रिय रूपमै सुन महँगिएको छ । उनले भने,–‘अहिले अन्तर्राष्ट्रिय बजारमा पनि सुन २ हजार डलर हाराहारीमा कारोबार हुँदै आएको छ । यो क्रम घट्न भन्दा पनि बढ्ने देखिन्छ ।’
विश्व बजारमा मङ्गलवार पनि सुनको भाउ २ हजार डलर भन्दा माथि नै छ । यता, विज्ञहरूले पनि सन् २०२४ मा सुनको भाउ करिब ३ हजार डलर हाराहारीमा पुग्ने अनुमान समेत गरेका छन् ।
अमेरिकी रिजर्भ बैङ्क फेडले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको विश्लेषकहरूले बताएका छन्। उनीहरूले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आकलन समेत गरेका छन्।